एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

रासस

विहीबार, २३ बैशाख २०७८, १३ : १८
एन्टिजेनका भरमा दार्चुला, पर्याप्त भएन परीक्षण

दार्चुला । जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना जाँचका लागि एन्टिजेन परीक्षणमै निर्भर हुनुपरेको छ । पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानेर शंकास्पद बिरामीको जाँच गरिएको हो । कोभिड–१९ को दोस्रो चरण आउँदासम्म जिल्लामा एन्टिजेन परीक्षण पनि सबै ठाउँमा पर्याप्त हुनसकेको छैन । स्वास्थ्य कार्यालय दार्चुलाबाट निश्चित मात्रामा पठाइएको एन्टिजोन किट्सका माध्यमबाट परीक्षण गरिएको छ । 

अहिले जिल्लाभरि कोरोनासँग मिल्दो लक्षण भएका बिरामी जताततै बढेका छन् ।  रुघाखोकी, ज्वरो र शरीर दुख्ने समस्याका बिरामी अधिकांश गाउँमा रहे पनि उनीहरूको जाँच हुनसकेको छैन । मार्मा गाउँपालिका–३ मा एक जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्यकर्मीमै सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । 

ज्वरो तथा रुघाखोकीका बिरामीहरू उपचारका लागि स्वस्थ्य संस्थामा आउने गरेका छन् । उपकरण, जनशक्ति र औषधि अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रूपमा फैलिएका बेला भारतबाट यहाँका सयौं स्थानीय रोजगारी छोडेर गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ फर्किए भन्ने यकिन तथ्याङ्क कुनै स्थानीय तहसित पनि छैन । 

भारतबाट फर्किएकाहरू सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको स्थानीय जगतसिंह ठगुन्ना बताउँछन् । “गाउँघरमा उनीहरू निस्फिक्री घुमिरहेका छन्”, उनले भने । यहाँका धेरै मानिसहरू रोजगारी र मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गर्छन् । र पढाइका लागि धनगढी, महेन्द्रनगर, काठमाडौँलगायतका शहर पसेका स्थानीयवासी पछि समस्यामा परिने डरले गाउँ फर्किसकेका छन् ।  उनीहरूको स्वास्थ्य परीक्षण भएको छैन । केहीलाई ज्वरो आएको जाँच गर्न पनि स्वास्थ्य संस्था नजाने हुँदा गाउँमा कोरोनाको त्रास बढेको छ ।

जिल्लामा पूरै निषेधाज्ञा जारी गरिएको भए पनि परीक्षणको दायरा बढाइएको छैन् । दुहुँ गाउँपालिका हिकिला स्वास्थ्य चौकी प्रमुख प्रेमसिंह धामी हिकिलामा अहिलेसम्म १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको बताउँछन् । जिल्लाबाटै एन्टिजेन थोरै पठाइएको छ । थोरै मात्र पठाइएको हुँदा नमूनाको रुपमा पाँचवटै वडामा परीक्षण गरिएको छ । २५ एन्टिजेन पठाइएकोमामा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा अहिलेसम्म ५१८ किट एन्टिजेन र भिटिएम ३८५ किट पठाइएको छ ।  कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टका अनुसार महाकाली नगरपालिकामा ७०, शैल्यशिखरमा १००, मालिकार्जुन गाउँपालिकामा ९०, मार्मा गाउँपालिकामा ३३, अपिहिमाल गाउँपालिकामा ८०, लेकम गाउँपालिकामा ३०, नौगाड गाउँपालिकामा ४०, दुहुँ गाउँपालिकामा २५ र व्यास गाउँपालिकामा ५० थान किट पठाइएको छ ।


जिल्लामा पिसिआर मेसिन नभएपछि एन्टिजेन प्रविधिलाई नै भरपर्दो मानिएको भट्ट बताउँछन् । एन्टिजेनले बिरामीको नाकबाट स्वाब लिएको १५ मिनेटमै रिजल्ट दिने गरेको छ । यसको रिपोर्ट पिसिआरसँग झण्डै ७५ प्रतिशत मिल्ने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस