कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित

सफल खबर संवाददाता

सोमबार, २० बैशाख २०७८, ११ : २४
कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित

काठमाडौं । कोभिड-१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औ जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित गरेको हो ।

कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा पुष्पराज कँडेलले जानकारी दिए । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।

‘अहिले गणकहरूलाई खटाउने अवस्था पनि छैन , सही तथ्याङ्क पनि आउन सक्दैन । मान्छे डराएकाले विवरणहरू संकलन गर्न कठिन अवस्था भएको हुँदा जनगणना हुन सक्दैन ‘ ,उनले भने । कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने उनले बताए ।

‘अहिलेको अवस्था हेर्दा साउन भन्दा अगाडी जनगणना होला मलाई लाग्दैन ‘, उनले भने । गणना मन्त्रिपरिषदले स्थगित गरेको जानकारी प्राप्त भएको भएपनि आधिकारिक पत्र प्राप्त नभएको बिभागका एक अधिकारीले बताए । ‘स्थगित गरियो भन्ने सुनेको हो आधिकारिक पत्र आउन बाँकी छ’, उनले भने ।

जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको थियो ।

गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस