स्थानीय तहसंग समन्वय गरी राहत कार्यक्रम संचालन गर्न  गैससलाई आग्रह

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : ४८
स्थानीय तहसंग समन्वय गरी राहत कार्यक्रम संचालन गर्न  गैससलाई आग्रह

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई कोभिड १९ को रोकथाम, नियन्त्रणका लागि राहत तथा प्रतिकार्यका कार्यक्रम संचालन गर्न समाज कल्याण परिषदले आग्रह गरेको छ ।

परिषद्ले आइतबार एक सूचना जारी गर्दै परिषद्मा आवद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र समाज कल्याण परिषद्ले तोकेको प्राथामिकताको क्षेत्रमा स्थानीय तहसंग समन्वय गरी राहत तथा प्रतिकार्यका कार्यक्रम संचालन गर्न अनुरोध गरेको हो ।

गैरसरकारी संस्थाहरुले परिषद्सँग स्वीकृति लिई संचालनमा रहेको परियोजनाहरुको कुल बजेटबाट मात्र रकमान्तर गरी कोभिड १९ रोकथाम, उपचार, राहत एवं प्रतिकार्य सम्बन्धी क्रियाकलाप संचालन गर्नुपर्ने परिषद्ले जनाएको छ ।

राहत वितरण गर्दा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्राथमिकताका क्षेत्रहरुमा कोभिड १९ को उपचार सहायताहरु अक्सिजन, सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्स्न्ट्रेटर, भेन्टिलेटर, आईसीयू, इन्फ्रारेट थर्मोमिटर, पल्स अक्सिमिटर, लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराउन एनजिओ आइएनजीओहरुलाई पत्राचार गरेको छ ।

साथै, फेस माक्स, फेस सिल्ड, ग्लोभ्स, सेनिटाईजर आदि, कोभिड १९ निदानका लागि आवश्यक पर्ने पीसीआर टेस्छ, एन्टिजेन टेस्ट लगायतका सामाग्रीहरु, क्वारेन्टाईन, आईसोलेसन व्यवस्थापन सामाग्रीहरु र कार्यक्रमहरु अवरुद्ध भएको नियमित स्वास्थ्य सेवा प्रवाहलाई सहयोग गर्ने स्वास्थ्य सामाग्री कार्यक्रमहरु केन्द्रित हुनुपर्ने परिषद् जनाएको छ ।यसरी संचालन गर्ने सामाग्री र कार्यक्रम परिषद् कार्यालयसँगको समन्वयमा संचालन तथा वितरण गर्न समेत परिषद्ले आग्रह गरेको छ ।

अतिविपन्न परिवार, दैनिक ज्याला मजदुरी गर्ने श्रमजिवीलाई राहत सामग्री तथा खाद्यान्न वितरण गर्दा स्थानीय तहसँग समन्वय गरी वितरण गर्ने र सोको प्रमाण सहित परिषद् कार्यालय र सम्बन्धित स्थानीय तहमा प्रतिवेदन पेश गर्न सबै गैरसरकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस