कारमा मृत भेटिएका वालकहरुको शब पहिचान, गाडी मालिक र चालक पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, ०७ : २८
कारमा मृत भेटिएका वालकहरुको शब पहिचान, गाडी मालिक र चालक पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना वालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपि गणेश चन्दले दिएको जानकारी अनुसार मृतक बालकहरु तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन ।

तुलसीपुर–६ स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको लक लागेको भारतीय नम्बर प्लेटको गाडीभित्र शनिवार बेलुकी उनीहरू मृत भेटिएका थिए ।तीनैजना वालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको र १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडिभित्र उनीहरूको शव भेट्टाएको एसपि चन्दले बताएका छन । 

उनका अनुसार  प्रहरी अनुसन्धानका लागि गाडी मालिक यादबप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिए । उनले घटनाको अनुसन्धान चलिरहेकाले अहिले सोधपुछको लागि उनिहरुलाई नियन्त्रणमा लिइएको र उनिहरु नै अभियुक्त भए नभएको बारे प्रहरीले अनुसन्धान नगरेर त्यसै भन्न नसकिने बताए । 

साथै शनिबार साझ नै इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।

मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको प्रहरी अनुसन्धानकाक्रममा खुलेको एसपि चन्दको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस