चितवनका ठूला अस्पतालमा कोरोनाका बिरामी बढ्दै, आज १७२ जनाको उपचार हुँदै, ९ जना भेन्टिलेटरमा

सफल खबर संवाददाता

शनिबार, १८ बैशाख २०७८, १६ : १९
चितवनका ठूला अस्पतालमा कोरोनाका बिरामी बढ्दै, आज १७२ जनाको उपचार हुँदै, ९ जना भेन्टिलेटरमा

चितवन । चितवनको भरतपुरमा रहेका तीन ठूला अस्पतालमा कोरोना भाइरसबाट संक्रमित भएका बिरामीहरुको संख्या क्रमशः बढिरहेका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज (सिएमसी) र पुरानो मेडिकल कलेज (सिएमएस) मा कोरोनाबाट संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । 

‘तीन ठूला अस्पतालमा कोरोनाबाट संक्रमित हुनेहरुको उपचार भइरहेको छ, यहाँ संक्रमितको संख्या उपचारको लागि आउनेक्रम दिनहुँ बढीरहेको छ’ स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने । उनका अनुसार आजमात्रै चितवनको तीन ठूला अस्पतालमा १७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार चितवन मेडिकल कलेजमा ५ जना र भरतपुर अस्पतालमा ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

चितवनको हाल आइसियूमा ५४ जना र एचडियूमा ४९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । अन्यको जनरल वार्डमा राखेर उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको आइसियूमा ३७, एचडियूमा २१ र जनरल वार्डमा १४ जना छन् । पुरानो मेडिकल कलेजमा आइसियूमा १० जना र एचडियूमा २१ जना छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार शनिबार चितवनमा १६० जना नयाँ संक्रमित थपिएका छन्। 

६०० बेडको भरतपुर अस्पतालमा कोरोना संक्रमितका लागि १५० बेड छुट्याइएको छ । चितवन मेडिकल कलेजमा कोभिड बेड थपेर ११३ मध्ये ३३ आईसीयू, ५५ एचडीयू र २५ जनरल बेड पुर्‍याइएको छ । पुरानो मेडिकल कलेज कोभिडको लागि ५९ बेडमध्ये ४० एचडीयू र १९ आईसीयू छुट्याइएको छ । 

चितवनका अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चितवनमा संक्रमित संख्या बढीरहेको हुनाले अस्पतालहरुले थेग्न मुस्किल पर्ने अवस्था आउनसक्ने जनाएको छ । चितवनका अस्पतालहरूमा धेरैजसो अन्य जिल्लाबाट आएका गम्भीर कोरोना संक्रमितहरूको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख दीपकबाबु तिवारी सावधानी नभए भयावह अवस्था आउनसक्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस