काठमाडौं । कोरोनाको महामारीसँगै अक्सिजनको अभाव सुरु भएपछि विपन्न वर्गलाई लक्ष्यित गर्दै ‘निशुल्क अक्सिजन बैंक’ खुल्न थालेका छन् । वीरगञ्ज र मकवानपुरमा पहिलोपटक अक्सिजन बैंक सञ्चालनमा ल्याइएको छ ।
छिमेकी देश भारतमा अक्सिजन अभाव भएर कोरोनाका बिरामीहरुको मूत्यु भइरहेको छ । नेपालमा पनि सानो अक्सिजनको सिलिन्डर अभाव सुरु भइसकेको छ । यही स्थितिलाई मध्येनजर गर्दै पहिलो अक्सिजन बैंक वीरगञ्जमा र त्यसपछि हेटौंडामा खुलेको हो ।
गत वर्षको लकडाउनमा सर्वसाधारणलाई खानेकुरा निशूल्क वितरण गर्न विभिन्न स्थानमा खाद्यान्न बैंक खुलेका थिए । भएकाहरुले दिएर जाने र नभएकाहरुले लिएर जाने अवधारणामा खुलेका ती खाद्यान्न बैंक निकै प्रभावकारी बनेका थिए । अहिले खुलेका अक्सिजन बैंकहरुले पनि विपन्न वर्गलाई राहन मिल्ने सञ्चालकहरुको आशा छ ।
वीरगञ्जमा वीरगञ्ज महानगपालिका र लायन्स क्लबको साझेदारीमा निशुल्क अक्सिजन बैंक स्थापना भएको हो । वीरगञ्ज महानगपालिकाका जनस्वास्थ्य निरक्षक सुमन चन्द्र ठकुरीले ४७ देखि ५५ लिटरसम्मका अक्सिजन सिलिन्डर वीरगञ्ज महानगरपालिका भित्रका कोरोना लागेका विरामीलाई निशुल्क वितरण गरिएको बताए ।
वीरगञ्जमा निशुल्क अक्सिजन बैंकका सदस्य अनुप अग्रवालका अनुसार महानगरपालिकाले अक्सिजनसहितका सिलिण्डर खरिद गरेको हो । ती सिलिण्डरमा ग्यास सकिएपछि लायन्स क्लबले पुन अक्सिजन भर्ने व्यवस्था मिलाएको छ । अक्सिजन प्रयोग गर्दा आवश्यक पर्ने पाइप लगायतका सामग्री क्लवले नै किन्ने गरेको अग्रवालले बताए । अहिले वीरगञ्ज महानगरपालिकाका नागरिकलाई मात्रै यो सेवा दिइएको छ ।
अग्रवालले भने, ‘डाक्टरले कोरोना संक्रमण भई अक्सिजन प्रयोग गर्न पर्ने भनि सिफारिस गरेकाहरुलाई नागरिताको फोटोकपी पेस गरेपछि अक्सिजन निशूल्क उपलब्ध गराइन्छ ।’अक्सिजन अभावले कसैको पनि मूत्यु नहोस् भनेर यो सेवा सञ्चालनमा ल्याइएको अग्रवालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ बैशाख २०७८, १८ : ५९
लेखकबाट थप