आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १८ : ०२
आज रातिदेखि पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने

रुपन्देही । कोरोना संक्रमण बढ्दै गएपछि लुम्बिनी प्रदेशका पहाडी जिल्ला पाल्पा र गुल्मीमा पनि निषेधाज्ञा हुने भएको छ । पाल्पामा आज १७ गते राति १२ बजेदेखि र गुल्मीमा १८ गते राति निषेधाज्ञा गर्ने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

पाल्पा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १७ रातिदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पाइने छैन ।

सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न, मानिसहरु जम्मा हुन, भीडभाड गर्न, जात्रा महोत्सव गर्न तथा कुनै पनि प्रकारको खेलकुद सञ्चालन गर्न निषेध गरिएको उनले बताए । त्यसैगरी संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस