नेपालद्वारा भारतलाई कूटनीतिक नोट,अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १२ : ५६
नेपालद्वारा भारतलाई कूटनीतिक नोट,अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह

काठमाडौं । लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले कूटनीतिक च्यानलबाट स्वास्थ्य सामाग्री आपूर्तिको लागि नेपालले भारतसँग पहल गरिरहेको बताइन् ।

भारतले स्वास्थ्य सामाग्री आपूर्ति गर्न सकारात्मक जवाफ दिएको र चाँडै आपूर्ति सुचारु हुने कुरामा आफू आशावादी रहेको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्सिजन, सिलिन्डर लगायतका सामाग्रीको घरेलु खपत पछिल्लो समय बढिरहेको बताउँदै भारतले ती सामाग्री आपूर्तिमा अहिले रोक लगाएको छ । नेपालले भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति गर्दै आइरहेको थियो ।

बढ्दो कोरनाभाइरस संक्रमणले अक्सिजन लगायतका सामाग्री अपुग हुने आंकलन गर्दै नेपालले ती सामाग्रीको आपूर्ति सुचारु गर्न कूटनीतिक लबिइङ थालेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले साताअघि भारतीय समकक्षीहरुसँग खोपसहित अक्सिजन लगायतका सामाग्रीको आपूर्ति सुचारु गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस