कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद पार्टीबाट निष्कासित

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १६ : ५०
कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद पार्टीबाट निष्कासित

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका एमालेको तीन सांसद पार्टीबाट निष्कासित भएका छन् ।नेकपा एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको वैठकले संसदमा माओवादी केन्द्रका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । 

निष्कासित हुनेहरुमा नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही रहेका छन् । उनीहरुले पार्टीको ह्विप उल्लंघन गरी मुख्यमन्त्री शाहीको समर्थनमा मत हालेका थिए ।  पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख वोगटीले बताए ।

पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको उनी बताउँछन् । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने निर्णय भएको छ । 

प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’