माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १२ : १८
माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच भेटवार्ता

file Photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार बिहान भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

शुक्रबार कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार नेपाल समूहका ४ सांसदले सघाएकै कारण सरकार ढल्नबाट जोगिएको थियो । स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसालसमेतको सहभागिता रहेको बताइएको छ । 

नेपाल समूहले प्रधानमन्त्री ओलीले पार्टी एकपक्षीय ढंगले सञ्चालन गरेको भन्दै देशभर समानान्तर गतिविधि गर्दै आएको छ भने शुक्रबार कर्णालीमा ४ सांसदले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत लिएपछि राजनीति थप तरंगित बनेको छ ।