चितवन । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले रामपुर कृषि क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी कृषि क्याम्पस रामपुर चितवनमा अध्ययनरत विद्यार्थी दिनेश बाँनिया, खेमराज उपाध्याय, सोनाम लामा र हिमाल आचार्यमाथि साङ्घातिक आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको हो ।
“अध्ययन गर्ने पवित्र संस्थामा आपराधिक जत्थाले हतियारसहित निर्घात आक्रमण गर्दा पनि आक्रमणकारीलाई कारवाही गर्न नसक्नु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विश्वविद्यालयलाई वैचारिक राजनीतिक थलो बनाउनुको सट्टा भौतिक आक्रमण गर्ने रणभूमि बनाउने दुष्प्रयास भएको बताउनुभयो ।
विश्वविद्यालयमा डर र त्रासको वातावरण सृजना गरी राजनीतिक आधार खडा गर्ने जोकोहीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने महामन्त्री भट्टराईको भनाइ छ । गुण्डागर्दीमा संलग्नलाई कारवाही नगरे कडा आन्दोलन गर्ने नेविसङ्घले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ बैशाख २०७८, २० : ०४
लेखकबाट थप