चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १३ : ३०
चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका २८ हरीसिद्धी खरिबोट चोकस्थित अर्वन ओएसिस ईन्टरप्राईजेजबाट करिब ९५ लाख ७६ हजार ८ सय ५५ रुपैयाँ बराबरका २ सय ३८ थान विभिन्न कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका १५ सिचाहिटी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका ८ घर भएका ३२ वर्षीय यम कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका ३२ नरेफाट बस्ने रामेछाप दोरम्बा गाउँपालिका ६ घर भएका २७ वर्षीय प्रदिप गौतम, काठमाडौं महानगरपालिका ९ गौशाला बस्ने सुनसरी माता नगरपालिका ६ घर भएका २६ वर्षीय महेश अधिकारी, काठमाडौं महानगरपालिका ३१ शान्तीनगर बस्ने धनकुटा महालक्ष्मी नगरपालिका १ घर भएका २३ वर्षीय दिपक खड्का र सोही ठाउँ बस्ने २५ वर्षीय नबिन अधिकारी रहेका छन् । 

उक्त ईन्टरप्राईजेजबाट चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सोमबार प्रदिपको डेरा कोठाबाट १ सय १२ थान विभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरु फेला पारी प्रदिप, यमकुमार र महेशलाई घटनामा प्रयोग भएको बा २१ च ७३४४ नम्बरको गाडी सहित पक्राउ गरेको थियो ।

साथै महेशको कोठबाट विभिन्न कम्पनीका सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरु ३६ थान, १ थान सुन जस्तो देखिने पहेंलो धातुले बनेको मंगलसुत्र, १ जोर जुली मुन्द्रा, १ थान मुन्द्रा, १ थान ल्यापटप र नगद १ लाख ५ हजार रुपैयाँ फेला पारी बरामद गरेको हो । थप अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न दिपक र नबिनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धना भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस