आरबीबी एनभीए भलिबलको उपाधि हेल्प नेपाललाई

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १३ : १९
आरबीबी एनभीए भलिबलको उपाधि हेल्प नेपाललाई

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आरबीबी-एनभीए राष्ट्रिय लिग भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा भ‍एको फाइनलको पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेटमा पनि सोही नतिजा दोहोर्‍याएको थियो ।

विभागीय टोली एपीएफले तेस्रो सेटमा फाइटिङ स्प्रिन्ट देखाएको थियो । हेल्प नेपालविरुद्ध २४-१७ ले पछि परेको एपीएफले लगातार पाँच अंक जोडेको थियो । तर, भारतीय खेलाडी बिनितको स्पाइक ब्लक आउट भएसँगै हेल्प नेपाल लगातार दोस्रो पटक च्याम्पियन बन्यो ।

हेल्प नेपाल राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताको पहिलो चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आइपुगेको थियो भने एपीएफ दोस्रो भएको थियो ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको हेल्प नेपालले ३ लाख रूपैयाँ र ट्रफी, दोस्रो भएको एपीएफले १ लाख ५०, तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ७५ हजार र चौथो बुलबुले रारा क्लबले ३७ हजार ५ सय रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस