अझै केही दिन तुवाँलो कायम रहने

रासस

बुधबार, १८ चैत्र २०७७, २१ : ०३
अझै केही दिन तुवाँलो कायम रहने

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा देखिएको तुवाँलो अझै केही दिन कायम रहने भएको छ ।

नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोका साथै लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायु प्रदूषण बढेको तथा प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलबारको तुलनामा आज पारदर्शीता केही बढेको छ । उहाँका अनुसार अब निरन्तर बढ्ने सम्भावना देखिएको छैन । आज देशको केही स्थानमा फाट्टफुट्ट वर्षाका साथै हावाको बेग हल्का बढेकाले पारदर्शिता बढेको बताइएको छ ।

आगामी तीन दिन मौसम सुधार हुने कुनै अवस्था नदेखिएको विभागले जनाएको छ । 

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस