प्रधानमन्त्री–सभामुख दुवैको आवश्यकताले जुरायो भेटघाट

गत भदौं दोस्रो सातायता प्रत्यक्ष सम्वाद हुन नसकेका प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटा बीच आइतबार दुई घण्टा बढी ‘वान टु वान’ छलफल भएको छ

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, ०८ : २४
प्रधानमन्त्री–सभामुख दुवैको आवश्यकताले जुरायो भेटघाट

काठमाडौं । आठ महिनायता सम्वादहिनतामा रहेका तर एक अर्काप्रति आशंका भावले हेर्ने गरेका राज्यका प्रमुख दुई अंगका प्रमुखहरुका बीचमा आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी ओली र सभामुख अग्निप्रसाद सापकोटाका बीचमा हिजो (आईतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भेटवार्ता भएको हो ।  

ओली र सापकोटाका बीचमा गत भदौं दोस्रो सातायता भेट यसरी भएको थिएन् । आक्कल झुक्कल सम्वैधानिक कार्यक्रममा भेट हुने र देखादेख हुने गरेपनि खास सम्वाद भएको थिएन । अमेरिकी सहयोग नियोग एमसीसी परियोजना संसदमा टेबुल नगरी आफुलाई असहयोग गरेको आरोप ओलीले सभामुख चयन भएर आएदेखि नै अग्नि सापकोटामाथी लगाउँदै आएका थिए । तर जब पछि फेरि पार्टीभित्रै विवाद चर्कियो, त्यसपछि भने झन सम्बन्धमा चिसोपना बढेर गयो । त्यसपछि त झन सम्वाद नै ठप्प भयो । 

तर आइतबार दुवै नेताले आ–आफनो आवश्यकताका कारण झण्डै दुई घण्टा बढी समय एक्लाएक्लै भेटवार्ता गरे । सभामुखले संसदमा सरकारका तर्फबाट बिजनेस नै पाउन नसकेपछि संसदलाई प्रभावकारी र जनमुखी बनाउन सरकारको सहयोगी भूमिकाको अपेक्षा गरेका थिए ।  तर सरकारले विजनेस नदिएपछि सभामुख प्रधानमन्त्रीसँग सम्वाद गर्न चाहन्थे । उनलाई गत चैत २ को कार्यब्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग सम्वाद गर्नका लागि सत्ता पक्षकै नेताहरुले समेत सुझाएका थिए । एमालेका तर्फबाट खगराज अधिकारी, विशाल भट्टराई देखि कानुनमन्त्री सम्मले पनि यस कुरामा जोड दिएका थिए ।

त्यसपछि माओवादी र काँग्रेसका नेताहरुले पनि प्रधानमन्त्रीसँग एकपटक सम्वाद गर्न सभामुखलाई भनेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्रीसँग भेट्नका लागि समय माग गरेका थिए । उता प्रधानमन्त्री ओलीलाई पनि सभामुखसँगको बिग्रदो सम्बन्ध तत्काल सुधार गर्ने, सम्वादहिनता नतोडने हो भने अप्ठयारा थिए । एक महिनापछि सरकारले संसदको आठौं अधिवशेन बोलाउनु पर्ने आवश्यकता छ । बजेट अधिवेशनका लागि पनि ओलीका सामु यही एउटा विकल्प छ ।

सरकारमा उनले जसपालाई लिएर सत्ता टिकाए पनि सरकारको नीति तथा कार्यक्रम पास गर्ने देखि बजेट पारित गराउने विषय सम्ममा प्रधानमन्त्रीलाई सभामुखको सहयोगी भूमिका आवश्यक पर्छ । सोही कारण पनि सम्वादहिनता लामो समय राख्न प्रधानमन्त्रीले चाहेका थिएनन् । उनले पनि कुनै न कुनै रुपमा सभामुखसँग भेट गर्ने चाहेका थिए । त्यसपछि भने दुवैका आवश्यकतामा हिजोको भेटवार्ता भएको हो । भेटवार्ता पछि सम्वादहिनता त तोडिएको छ । अबका दिनको सम्बन्ध कस्तो हुन्छ भन्ने दुवैका आगामी गतिविधिले प्रष्टाउने छ ।

यस अगाडी ओलीले सभामुखसँग परामर्श लिदै नलिई संसदको अधिवेशन अन्त्य गर्ने, सम्वैधानिक परिषद्मा सभामुखको उपस्थिती बिनै अध्यादेशमार्फत नियुक्तिहरु गर्ने र प्रतिनिधीसभा विघटन गर्ने सम्मका काम प्रधानमन्त्रीले गरेका थिए । त्यसमा ओलीसँग सभामुखको असन्तुष्टि बढेको थियो । तर अहिले भने दुवै नेता एक अर्काका बीचमा सम्बन्ध सुधार गर्ने प्रयासमा छन् । 
 

प्रतिक्रिया दिनुहोस