चितवन । भरतपुरको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो ।
विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए । “नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ”, उनले भने, “कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ ।”
विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । “भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भने ।
विसं २०१९ सालमा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ । चार निजी स्रोतका शिक्षक छन् । आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ ।
विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए । “शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ”, अध्यक्ष सापकोटाले भने ।
गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ । भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए ।
विद्यालयको एक बिघा नौ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउँछन् । विद्यालयका कक्षाकोठामा छत उक्किएर मर्मत गर्नुपर्ने अवस्था हुँदा पनि सरोकारवाला निकायको ध्यान पुग्न नसकेको उनले बताए । आर्थिक अभावमा नयाँ भवन निर्माण र पुरानो भवन मर्मतको काम गर्न नसकिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, ११ : ०४
लेखकबाट थप