रहेनन् वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १३ : ४८
रहेनन् वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठ

काठमाडौँ । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । 

श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सवादबारे गहन अध्ययन गरेका थिए । तीक्ष्ण स्मरणशक्ति भएको श्रेष्ठ इतिहासका तिथिमिति यकिनसाथ भन्न सक्थे । स्वर्गीय श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल काठमाडौँ महानगरपालिका–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए । 

माणिकलाल पत्नी सुशाीला सिंह‘शिलु’ (सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश) को गत जेठ ९ गते निधन भएको थियो । माणिकलालका दुई छोरा वरिष्ठ कार्डिओलोजिस्ट डा. मलखलाल श्रेष्ठ र चिकित्सक डा. सितुलाल श्रेष्ठ छन् । जेठो छोरा विदेशमा रहेकाले उनी फर्किएपछि श्रेष्ठको अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

‘माणिकलाल श्रेष्ठ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो,’ अधिकारवादी नेता मल्ल के सुन्दर भन्छन्, ‘वामपन्थी विचारक, इतिहासका सूक्ष्म ज्ञाता, विज्ञानका ज्ञाता, कानुनका ज्ञाता, नेपालभाषाका समालोचक, मातृभाषा अभियन्ता, विश्वविद्यालयका प्राध्यापक भनेर चिनिनु हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस