ठोरीवासीले मुख्यमन्त्री पौडेलसँग भने, हामी ३ नं. प्रदेशमा समावेश हुन चाहन्छौ

सोमबार, १२ चैत्र २०७४, १३ : १३
ठोरीवासीले मुख्यमन्त्री पौडेलसँग भने, हामी ३ नं. प्रदेशमा समावेश हुन चाहन्छौ

चितवन :  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पर्साका ठोरीवासीले प्रदेश ३ मा गाभ्न आग्रह  गरेका छन् । ठोरी नाकाको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका मुख्यमन्त्री पौडेलको स्वागत गर्दै स्थानीयवासीले ठोरीलाई प्रदेश २ बाट प्रदेश ३ मा लैजान भनेका हुन् ।
ठोरी गाउँपालिका(१ का वडाध्यक्ष रामशरण कुँवरले ठोरीलाई प्रदेश ३ मा गाभ्न पटकपटक प्रयास गरिएपनि सफल नभएको गुनासो पोखे । उनले मुख्यमन्त्री समक्ष ठोरीका जनता र जनप्रतिनिधिको भावनाको सम्मान हुनुपर्ने बताए ।
ठोरी गाविसका पूर्वअध्यक्ष उद्धव सापकोटाले लोकतन्त्रमा जनताको भावनाको सम्मान हुने भनिएपनि ठोरीका जनताको चाहाना र भावनाको अहिलेसम्म कदर नभएको दुखेसो गरे ।
मुख्यमन्त्री पौडेलले जनताको भावनाको सम्मान राज्यले गर्नुपर्ने भन्दै प्रदेश ३ का लागि पनि एक नाकाको आवश्यकता रहेको बताए ।
उनले प्रदेश ३ का लागि सबैभन्दा उपयुक्त नाका ठोरी नै हुने भन्दै प्रदेश २ सँग आवश्यक छलफल र सहमतिमा अघि बढ्ने बताए ।
‘प्रदेश आत्मनिर्भर बन्न उचित नाकाको समेत आवश्यकता पर्दछ,’मुख्यमन्त्री पौडेलले भने, ‘सरकारले एक आयोग गठन गरी सीमा हेरफेर गर्नुपर्दछ ।’
पटकपटक प्रदेश २ गाभिन पाउनुपर्ने माग गर्दै त्यहाँका स्थानीयले आन्दोलन समेत गर्दै आएका छन् ।
स्थानीय तहको निर्वाचनपछि बसेको गाँउपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश ३ मा गाभिन प्रस्ताव पारित गरेको थियो ।
माओवादीका अध्यक्ष प्रचण्डले समेत ठोरी नै पुगेर यहाँका जनताको माग सम्बोधन गर्ने आश्वासन दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस