कांग्रेस र जसपाको बैठक सकियो, महन्थ ठाकुरले भने–‘प्लिजिङ सरप्राइज’

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १८ : १४
कांग्रेस र जसपाको बैठक सकियो, महन्थ ठाकुरले भने–‘प्लिजिङ सरप्राइज’

काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठकमा कुनै सहमति हुन सकेन । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ । 

जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफलबाहेक अरु केही नभएको बताए ।  वृहत छलफल गर्नुपर्ने आवश्यकता छ, कुनै सहमति हुन सकेन’ उनले भने । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । उनले फेरि बैठक बसेर निष्कर्ष निकाल्ने जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासका कांग्रेसका पदाधिकारीहरूसँगको छलफलपछि नेता ठाकुरले मिलेर जाने प्रस्ताव आएको बताएका हुन् । 

‘अहिलेको अवस्था मिलेर जाने प्रस्ताव आएको छ, हाम्रो पनि कुरा राख्यौं, मुद्दा फिर्ता हुनुपर्छ भन्ने कुरा राख्यौं,’ ठाकुरले भने । उनले नयाँ सरकार गठनको विषयमा भने छलफल नभएको बताए । जसपाको नेतृत्वमा सरकार बन्ने र महन्थ ठाकुर नै प्रधानमन्त्री बन्ने चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा ठाकुरले भने– ‘यस्तो राम्रो खबरका लागि धन्यवाद छ, मेरा लागि प्लिजिङ सरप्राइज ।’ 

प्रतिक्रिया दिनुहोस