काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ ।बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ ।
प्रधानमन्त्री ओलीले अहिले त्यसै विषयमा जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्न लागेका हुन् ।संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरु राजेन्द्र महतो, र अशोक राई बिहीबार छलफलमा बसेका थिए ।
उनीहरुले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको जसपाका एक नेताले जानकारी दिए ।सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टीसँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिएको छ ।
जसपाले सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग अघि सारेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ फागुन २०७७, १५ : ५८
लेखकबाट थप