काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सडकमा अहिले सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ । कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए । लुभुको बजार क्षेत्रमा ५०० मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न बाँकी छ ।
विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । गत वर्ष नै सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको उनले बताए। उनले भने , “अहिले पनि कतिपय स्थानीयवासीले जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गरिरहनुभएको छ ।”
तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रु मार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ ।
त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको उनले बताए । उपलब्ध चौडाइमा निर्माण गर्दा बजारमा पाँच मिटर चौडाइ भएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ फागुन २०७७, ११ : ३०
लेखकबाट थप