चितवनमा एकसाथ चार वटा सवारी साधन दुर्घटना, ९ जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १८ फागुन २०७७, १५ : ११
चितवनमा एकसाथ चार वटा सवारी साधन दुर्घटना, ९ जना घाइते

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १ भतेरीमा एकसाथ चार वटा सवारी साधन ठक्कर खाएका छन् । जसमा मोटरसाइकल दुई वटा, कार एउटा र एउटा माइक्रो ठक्कर खाएका हुन् । माइक्रो बस, कार र मोटरसाइकल एकसाथ दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको बा २ ख ७९६७ नम्बरको माइक्रोले मुग्लिनतर्फ जाँदै गरेको बा२च २८२४ नम्बरको कार तथा ना १७ प ४०१२ नम्बरको र ना २७ प ७०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ । तीन वटा सवारी साधनका नौ जना उपचारको लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको प्रहरीको भनाइ छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाइतेको उपचारका लागि भरतपुर पठाइएको र दुर्घटनामा संलग्न चार वटै सवारी साधन तथा माइक्रो चालकलाई नियन्त्रणमा लिइएको छ ।

घाइतेमध्ये ना १७ प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका भरतपुर–२५ का २५ वर्षीय सुमन गुरुङ, ना १७ प ४०१२ नम्बरको मोटरसाइकलको पछाडि बसेका माडी–८ का ४२ वर्षीय ध्रुव पौडेल, कार चालक धादिङको ज्वालामुखी–१ का ३६ वर्षीय हरिप्रसाद तिवारी, कारमा सवार तिवारीकी श्रीमती २८ वर्षीया सिर्जना तिवारी, उनकै छोरा नौ वर्षीय हर्षित तिवारी, तीन वर्षीया छोरी हार्षिका तिवारीको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, ना २७ प ७०८९  नम्बरको मोटरसाइकल चालक भरतपुर–२९ कविलासका ५२ वर्षीय सुकमान तामाङ, माइक्रो बसका यात्रुपर्साको प्रसौनी–५ घर भएका २३ वर्षीय सन्दीप कुरमा साह र बारा जिल्लाको महागढीमाई–११ घर भएका ३७ वर्षीय मनोजकुमार साह सोनारको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस