मेलम्ची खानेपानी आयोजना सुरुङमा पानी हालियो

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, ०७ : २१
मेलम्ची खानेपानी आयोजना सुरुङमा पानी हालियो

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि सोमबार पानी छोडिएको छ । खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरे । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ ।

परिक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंबासिले मेलम्चीको पानी खान पाउनेछन् । सो अवसरमा खानेपानी मन्त्री थापाले सुरुङमा पानी पठाउने काम सफल भएपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने काम हुने बताए  ।

त्यसपछि दुई देखि तीन महिनामा उपत्यकाबासिका लागि पानी वितरण गरिने बताए ।शुरुवाती चरण भएकोले अहिले सुरुङको क्षमता भन्दा कम पानी छाडिने आयोजनाले बताएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटर सम्म पानी पठाउने काम भएको बताए ।

सुरुङमा १३ करोड लिटर पानी भरेपछि १० दिन सम्म परीक्षणका लागि राखिने र त्यसपछि पुनः एकपटक सुरुङ खाली गरेर जाँच गरिने बताए ।मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाईने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ ।

गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि एसियाली विकास बैंकको अनुदान सहयोगमा सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस