काठमाडौं । पछिल्लो पटक स्थापना भएको पाँचतारे होटल ‘मेक्योर काठमाडौैं’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो होटल उद्घाटन गरे ।
पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले सम्हालेको छ ।एकोरको अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड ‘मेक्योर’ को नामबाट होटल सञ्चालनमा आएको हो । बस्नेतले यो होटल ब्रान्ड नेपालमै पहिलो पटक भित्र्याएका हुन् ।
होटल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकको नेपाल भ्रमण गराउन यो होटलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटल व्यवसायमा नयाँ स्वाद दिँदै यो व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गरे । यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने ओलीले बताए ।
काठमाडौंको सुकेधारा हाइटमा सञ्चालनमा आएको मेक्योर काठमाडौंका सञ्चालक पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापति समेत रहेका बस्नेत हुन् ।
होटलले बढिभन्दा बढी पैसा खर्च गर्ने ‘क्वालिटी टुरिस्ट’ लक्षित गरेको छ । होटल व्यवस्थापनका अनुसार मेक्योर काठमाडौंमा लक्जरी र सुइट गरी १ सय ४ कोठा छन् । होटलमा ‘डाइन’, ‘जायका’, ‘सोप्रा इटालियानो’, ‘द कोभ’ र ‘शुक्र बार’ गरी पाँच वटा रेस्टुरेन्ट छन् ।
त्यसैगरी ‘एबी सुइट–१’, ‘एबी सुइट–२’, ‘बलरुम–१’ र ‘बलरुम–२’ नामका ब्यांक्वेट हल एवं आधुनिक जिम, स्टिम, सौना, वेलनेस सेन्टर लगायत पनि होटलमा उपलब्ध छन् । मेक्योरले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझै चिनाउने प्रयास गर्दै पाहुनालाई आधुनिक विलासिता र नेपाली सांस्कृतिक विशेषता अनुभव गराउने उद्देश्य लिएको सञ्चालक बस्नेतले बताए ।
बस्नेतले नेपालमै पहिलो पटक फ्रान्सेली होटल व्यवस्थापन तथा सञ्चालन समूह ‘एकोर ग्रुप’ को ब्रान्ड ‘मेक्योर’ ल्याएका हुन् । सन् १९६७ मा स्थापना भएको एकोर ग्रुपले हाल १ सय १० भन्दा बढी देशमा ५ हजार ४ सयभन्दा धेरै होटल व्यवस्थापन गर्दै आएको छ ।
एकोरले हाल ४० भन्दा बढी ब्रान्डमा होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । जसमा मेक्योर, नोभोटेल, पुलम्यान, राफल्स, सोफीटेल, इबिज लगायत पर्छन् ।हाल एकोर ग्रुपले मेक्योर ब्रान्डमा ६० भन्दा बढी देशमा ८ सय १० हाराहारी होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ ।
मेक्योर काठमाडौंका सञ्चालक बस्नेतका अनुसार हाल होटलले १ सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । बिस्तारै नयाँ ब्यांक्वेट हल र अन्य सुविधा थप्ने र त्यसपछि रोजगारी संख्या बढेर २ सय २० सम्म पुग्ने छ । होटलले प्रतिरात प्रतिकोठा न्यूनतम १ सय २५ अमेरिकी डलर तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ माघ २०८१, १४ : ५६
लेखकबाट थप