किन गर्यो मसालले युरोपियन युनियनको विरोध ? यस्तो छ कारण

विहीबार, ०८ चैत्र २०७४, १३ : २१
किन गर्यो मसालले युरोपियन युनियनको विरोध ? यस्तो छ कारण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) को केन्द्रीय कार्यालयले आज बिहीबार प्रेस वक्तव्य जारी गर्दै युरोपियन युनियनको विरोध गरेको छ । केन्द्रीय कार्यालयको तर्फबाट प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, युरोपियन यूनियन (ईयू) ले निर्वाचन पर्यवेक्षण सम्बन्धी दिएको आफ्नो अन्तिम प्रतिवेदनमा नेपालको आन्तरिक सद्भावलाई खल्बल्याउने मनसाय स्पष्ट देखिएकोले हाम्रो पार्टी त्यसको विरोध र भर्त्सना गर्दछ ।

निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको ईयुको निर्वाचन पर्यवेक्षण मिसनले गत मङ्गलबार सार्वजनिक गरेको आफ्नो अन्तिम प्रतिवेदनमा नेपालको सार्वभौमिकता र आन्तरिक मामिलामा दखल पुग्ने कैयौँ विवास्पद विषयहरू अगाडि आएको भन्दै वक्तव्यमा त्यसमा नेपालको संविधान, २०७२ मा व्यवस्था भएको प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक सहभागिता सम्बन्धीको प्रावधानलाई तोडमोड गरेर रिपोर्टहरू प्रस्तुत गरिएको दाबी गरिएको छ ।

‘संविधानमा समानुपातिक प्रतिनिधित्वमा जोड दिई एकता र सद्भाव कायम राख्नका लागि भएको उक्त सम्वैधानिक व्यवस्थालाई चुनौति दिंदै नेपालमा जातीय समस्यालाई बल्झाउने प्रकारले ‘खस आर्यको आरक्षण खारेज गर्न पर्ने’ भनी ईयूले प्रतिवेदन दिएको छ’ वक्तव्यमा भनिएको छ, ‘नेपालको वर्तमान संविधानमा प्रतिनिधि सभा र प्रदेश सभामा आरक्षण सम्बन्धी व्यवस्था नभएको र सम्बैधानिक व्यवस्था अनुसार नै समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार नै खस आर्य वा अरू बिभिन्न जाति वा क्षेत्रहरूको पनि समानुपातिक प्रतिनिधित्व हुने भएकोले ईयूको सो प्रतिवेदन गलत र भ्रामक पनि छ ।’

यसरी जातीय सद्भाव, राष्ट्रिय एकता तथा नेपालको आन्तरिक मामिलामा समेत आँच पुग्ने गरी ईयूले आफ्नो प्रतिवेदनमा व्यक्त गरेका ती धारणाहरूको नेकपा मसालले विरोध गरेको छ । यसका साथै राष्ट्रिय हित, सम्बद्र्धन र सद्भाव कायम राख्दै एकतावद्ध हुनाका लागि उक्त पार्टीले नेपाली जनतासित अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस