संविधान रक्षाको लागि जस्तोसुकै आन्दोलन आवश्यक : डा बाबुराम भट्टराई

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १७ : २८
संविधान रक्षाको लागि जस्तोसुकै आन्दोलन आवश्यक : डा बाबुराम भट्टराई

चितवन ।  जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान रक्षाको लागि जस्तोसुकै आन्दोलन आवश्यक भएको बताएका छन् । 

चितवनमा पत्रकारसँग कुरा गर्दै डा बाबुराम भट्टराईले संविधानको रक्षा गर्न जस्तोसुकै आन्दोलन गर्न आवश्यक भएको बताए । उनले नेकपाको माधव प्रचण्डले आयोजना गरेको आमहड्तालमा आफ्नो पार्टीको समर्थन भएको बताए । 

‘संविधान रक्षाको लागि गरिएको आन्दोलनमा हाम्रो समर्थन नै रहन्छ, यसमा आमहडताल पनि हुनसक्छ, या अन्य कुनै विरोधका कार्यक्रम’ अध्यक्ष भट्टराईले भने, ‘सबैभन्दा पहिला संविधानको रक्षा हुनुपर्छ ।’ उनले सरकारले गरेको संवैधानिक नियुक्ति ठिक नभएको बताए । 

नियोजित ढंगले संसद विघटन

डा बाबुराम भट्टराईले आज भरतपुरमा पार्टी कार्यकर्तासँग भेटघाट पनि गरेका छन् । भेटघाट कार्यक्रममा डा भट्टराईले नियोजित ढङंगले संसद विघटन गरिएको बताए । उनले पुस ५ गतेको घटना नेपालमा निरङकुशता ल्याउने षड्यन्त्र भएको बताउँदै भने, ‘ सरकार र सडकमा नेकपानै छन्, प्रचण्ड–माधव समूहले अब पनि केपी ओलीसँग सम्बन्ध विच्छेद गरे हुन्छ, यो मेरो उहाँलाई सुझाव हो ।’

उनले खुट्टा कमाउन छाडेर छुट्टै शक्तिको रुपमा स्थापित गर्न प्रचण्ड माधव पक्षलाई सुझाव दिए । ओलीसँग सम्वन्धविच्छेद भएमा देशमा तेस्रो ठुलो जनआन्दोलनको लहर ल्याउन सकिने उनको भनाइ थियो । भट्टराईले बैशाखमा कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताए । उनले भने, ‘बैशाखमा तोकिएको चुनाव गर्नको लागि ल्याइएको हो, यो चुनाव हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस