नुवाकोट । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको छ । सम्मेलन यही चैत ७ गतेदेखि ९ गतेसम्म नुवाकोट र रसुवामा संयुक्तरुपमा हुन लागेको हो । सम्मेलनको आवश्यक तयारी पूरा भएकाले केही आन्तरिक व्यवस्थापनको काम मात्र बाँकी रहेको काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक एवं काठमाडौँ कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिनुभयो ।
उहाँको अनुसार काँग्रेस जिल्ला कार्यसमिति नुवाकोट र कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका पदाधिकारीको संयुक्त बैठकले भेला तयारीको लागी विभिन्न समिति गठन तथा कार्य जिम्मेवारी प्रदान गरी तयारी तीव्र बनाइएको छ ।
काँग्रेस जिल्लाका कोषलाई पारदर्शी, समृद्धि, सुदृढ र जवाफदेही बनाउन भेला केन्द्रित हुने पुडासैनीले बताउनुभयो । “पछिल्ला निर्वाचनले पार्टी कमजोर भइरहेको समयमा हुन लागेको भेलाले बलियो बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”
सम्मेलनअन्तर्गत काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा चैत ७ गते पार्टीको केन्द्रीय नेता सम्मिलित उद्घाटन समारोह र ८ गते बन्दसत्रसहित प्रशिक्षण तथा ९ गते रसुवाको स्याफ्रुबेँसीमा भेलाको समीक्षा बैठकसहित पत्रकार सम्मेलन हुने रसुवा कोषाध्यक्ष पदम न्यौपानेले बताउनुभयो ।
सम्मेलनमार्फत वर्तमान सन्दर्भमा काँग्रेसको कमजोर अवस्था र कार्यकर्तामा छाएको निरासाको समीक्षा हुने तनहुँ कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । “उद्घाटन समारोहमा एकै स्थानमा भेला हुने शीर्ष नेताले पार्टी एक भएको सन्देश दिन्छ ।”
सम्मेलन तयारीको लागि नुवाकोट र रसुवा पार्टी कार्यसमिति परिचालन भइरहेको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले बताउनुभयो । -रासस
प्रतिक्रिया दिनुहोस