चिनीयाँ विशेष टोलीको दौडधुपमा जिज्ञासा बढी, सुझाव कम

नेकपाका सबै नेतासँग चीनीयाँ विशेष टोलीको एउटै प्रश्न, नेकपा अझै मिल्न कति सम्भव छ ?

सफल खबर संवाददाता

मंगलबार, १४ पुस २०७७, ०८ : २१
चिनीयाँ विशेष टोलीको दौडधुपमा जिज्ञासा बढी, सुझाव कम

काठमाडौं । नेकपामा विभाजन आउने गरी मध्यावधी निर्वाचनको मिति घोषणा भएका बेला नेपाल आएको उत्तरी छिमेकी मुलुक चीनको विशेष टोली राजनीतिक भेटघाटमै व्यस्त छ । आइतबार अपरान्ह काठमाडौं आएको टोलीले आज पनि राजनीतिक भेटवार्ता कायमै राख्नेछ ।

अहिलेसम्म यो टोलीले राष्ट्रपति भण्डारी, नेकपाका अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली, नेकपाकै अर्काे पक्षका अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराई र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिसकेको छ । आज काँग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

नेपालमा गहिरिदो राजनीतिक संकटका बेला चीनले यहाँको वस्तुस्थितीका बारेमा जानकारी लिने र दुई टुक्रामा विभाजित भएको नेकपालाई सक्दो मिलाउने उद्येश्यले प्रत्यक्ष फिल्डमै आफ्नो विशेष प्रतिनिधीमण्डल पठाएर होमवर्क गर्न थालेपछि आम मानिसले चासो साथ हेर्न थालेका छन् ।

यही क्रममा कुओ नेतृत्वको टोलीले जिज्ञासा बढी तर सुझाव कम दिने गरी राजनीतिक भेटघाट गरिरहेको बताईएको छ । नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ÷छैन ? छ भने के छ ? प्रतिनिधीसभा विघटन अब के हुन्छ ? भन्दै नेताहरुसँग चिनियाँ टोलीले जिज्ञासा राखेको छ । ओलीले प्रतिधिीसभाको चुनाव हुने, अब पछाडी फर्किन नसक्ने जवाफ दिएको छ ।

ओलीसँग भने यो टोलीको तीन चरणमा भेटवार्ता गरेको थियो । प्रधानमन्त्री ओली, अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङ सहितसँग पहिलो चरणमा, त्यसपछि प्रधानमन्त्री ओली, उनका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई सहित अर्काे चरण र प्रधानमन्त्री ओलीसँग एक्लै अर्काे चरणमा गरी चिनीयाँ टोलीको बालुवाटारमा भेटवार्ता गरेको थियो । सोमबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतसँग भेटवार्ता गरेपछि त्यहाँ पनि नेकपाको मिलन अब कति सम्भव छ मै प्रश्न थियो ।

प्रचण्डले भने प्रतिनिधीसभा पूर्नस्थापना भएपछि मात्र त्यसका बाटो खुल्ने बताएका थिए । चिनियाँ टोलीले नेकपाका नेताहरुसँग भेटवार्ता गदै अझै मिल्न सम्भव कति छ ? त्याग कसले कति गर्न सक्छ ? भन्दै प्रश्न गर्न थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका वीचमा भेटवार्ता समेत भएको छ ।

सोमबार साँझ भएको राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्तामा चिनियाँ टोलीको भेटवार्तासँगै सम्बन्धित कुरामै केन्द्रीत रहेर छलफल भएको स्रोतले बताएको छ । ओलीसँग र राष्ट्रपतिसँगको सम्वादमा चिनियाँ पक्ष त्यक्ति सन्तुष्ट हुन नसकेको बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस