काठमाडौँ महानगरपालिकाको २६औँ महानगर दिवस

रासस

सोमबार, २९ मंसिर २०७७, २० : ३४
काठमाडौँ महानगरपालिकाको २६औँ महानगर दिवस

काठमाडौं । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ । कामपाको २६औँ महानगर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले कामपा जेठो महानगर भएकाले यसले नै अन्य स्थानीय तहलाई राजनीतिक रुपमा नै सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिनुभएको हो । 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कामपाले गर्नुपर्ने काम अझै धेरै रहेको भन्दै अन्य स्थानीय तहलाई उदाहरण मिल्ले गरी काम गर्नुपर्ने धारणा राख्नुभयो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सम्वृद्धिको लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याउनुभयो । कामपा सांस्कृतिक शहर रहेको भन्दै प्रमुख शाक्यले तिनको पहिचान र संरक्षण अहिलेको आवश्यकता हो भन्नुभयो ।   

पछिल्लो समय शहरमा दीर्घरोगीको सङ्ख्या बढिरहेको भन्दै कामपाले स्थापना दिवसको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ । आज नै कामपाले इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ । स्थापना दिवसकै अवसर पारेर महानगरले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई सम्मान गरेको छ । 

सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई  सम्मान गरेको छ । सो सम्मानबाट न्यूज एजेन्सी नेपालबाट कृष्ण पौडेल, नयाँ पत्रिका दैनिकबाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहा खवरबाट अतिन आचार्य, खवर हब डटकमबाट सविना कार्की, कान्तिपुर टिभीबाट सिर्जना बाँस्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, नेवाः युट्युब्बाट विजयरत्न तुलाधर असंबरे, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल भाषा डाइम्स सम्मानित हुनुभएको छ । कामपाले विसं २०५२ मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष महानगर दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस