बैतडी । दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका लागि अन्यत्र जिल्ला जानुपर्ने बाध्यता कायमै छ ।
लामो समयदेखि जिल्ला अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा नागरिकलाई स्वास्थ्य सेवाप्राप्तिमा असहज भइरहेको छ । जिल्लाको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक नहुँदा स्वास्थ्य सेवा पाउन निकै मुस्किल भएको केशवसिंह भाटले जानकारी दिए ।
पछिल्लो डेढ वर्षयता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन रहेको उनले बताए । उनले भने, “तल्लोसोराडवासीको अस्पतालका रुपमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा हामीलाई धेरै समस्या भएको छ । सामान्य उपचारका लागि अन्यत्र जानु परिरहेको छ ।”
अहिले मेलौली नगरपालिका मातहत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको पदपूर्तिका लागि आवेदन आह्वान गरेको भए पनि कोही नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा इसिजी, एक्स–रेलगायतका सेवा सञ्चालनमा आउन नसकेका उहाँले जानकारी दिए । उनले भने, “हामीले आवेदन आह्वान गर्दासमेत कोही सम्पर्कमा आएनन् । चिकित्सक नहुँदा शव परीक्षणलगायतका काममा समस्या भएको छ ।”
यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र पनि चिकित्सकविहीन भएको छ । केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा छन् भने करारमा काम गरिरहेका चिकित्सक सुत्केरी बिदामा बसेपछि स्वास्थ्य केन्द्र चिकत्सकविहीन भएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।
एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा पनि नवौँ तहका चिकित्सक नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । आठौँ तहका चारै जना करारमा कार्यरत रहेको र दरबन्दी एक जना पनि नभएका उनले जानकारी दिए ।
विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा जटिलता हुने गरेको उनको भनाइ छ । उनले भने, “विशेषज्ञ चिकित्सक नहुँदा कुनै न कुनैरुपमा सेवा प्रवाहमा समस्या भएको छ ।” जिल्ला अस्पातलमा एक जना नवौँ तहको विशेषज्ञ चिकित्सकको दरबन्दी र तीन जना आठौँ तहका दरबन्दी भए पनि सबै अहिले करारमै कार्यरत रहेका छन् ।
चिकित्सक अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस
चिकित्सकको अभावमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन सकस भएको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहमा तीन महिनाका लागि कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याउन बजेट पठाएको भए पनि चिकित्सकको अभावमा ती अस्पतालमा सञ्चालनमा आएका छैनन् ।
पुर्चौंडी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने, “स्थानीय तहमा सञ्चालन हुने भनेका कोभिड अस्थायी अस्पतालका लागि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।”
कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि दशरथचन्द नगरपालिकाबाहेकका स्थानीय तहमा १० लाखका दरले बजेट आएपनि चिकित्सक नपाउँदा अस्पताल नै सञ्चालनमा आउन सकेका छैनन् ।
भेन्टिलेटर र आइसियु सञ्चालनमा समस्या
जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको दुई श्ययाको सघन उपचार कक्ष स्थापना भएको भए पनि चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष विशेषज्ञ चिकित्सक नहुँदा सञ्चालनमा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । कोरोना भाइरसका जटिलका खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको सघन उपचार कक्ष स्थापना गरिएको भए पनि चिकित्सक नहुँदा समस्या भएको उनले जानकारी दिए ।
उनले भने, “सघन उपचारका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको छ ।”, सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या आउने उनले बताए । उनले भने, “सघन उपचार कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।”
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० मंसिर २०७७, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने सरकारको निर्णय
भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा