काठमाडौं । प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ । कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन भएको हो ।
करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ । राजावादीले सोमबार काठमाडौंमै प्रदर्शन गरे । उनीहरूले सोमबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शन राष्ट्रिय शक्ति नेपालको नामबाट भएको थियो । उक्त संस्थाका अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट शाही कालमा मन्त्री थिए ।
सोमबारको प्रदर्शनबाट उत्साहित भएका राजावादीहरूले आगामी मंसिर २० गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएका छन् । सो कार्यक्रम ‘नेपालका लागि नेपाली’ नामबाट हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा हुने कार्यक्रम तथा (यालीमा सक्रिय सहभागी हुन कार्यकर्तालाई उर्दी जारी गरेको छ । सोमबार काठमाडौंमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरू सहभागी भएका थिए । प्रदर्शनकारीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्ले कार्ड र राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरूले राजा आऊ देश बचाऊ, हिन्दू राष्ट्र घोषणा गर, देशभर हल्ला छ, राजा ल्याउन सल्लाह छ जस्ता नारा लगाएका थिए ।
कार्यक्रममा पार्टीको झण्डा बोकिएको थिएन । उनीहरूले राष्ट्रिय झण्डा बोकेका थिए । काठमाडौंको कार्यक्रमबाट आफू उत्साहित भएको राष्ट्रिय शक्ति नेपालका अध्यक्ष विष्टले बताए । ‘जनता स्वतःस्फूर्त आएका छन् । यसबाट हामी धेरै उत्साहित भएका छौं,’ विष्टले भने, ‘अहिलेको व्यवस्थाबाट जनता निराश भएका छन् ।’ सोमबारको (यालीमा शाहीकालमा मन्त्रीहरू श्रीषशमशेर राणा, दीपक ज्ञवालीसहित राजसत्ता पक्षधरको सक्रिय सहभागिता थियो । कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता विपिन कोइराला पनि पुगेका थिए । विष्टले भने, ‘अब हामी यस्तो कार्यक्रम देशव्यापी रूपमा गर्छौं ।’
राप्रपाका नेता भुवन पाठकले हिन्दू राष्ट्र स्थापना र राजतन्त्र पुनःस्थापना राप्रपाको अजेन्डा भएकाले सो अजेन्डा पूरा गर्न पार्टीले आफ्ना कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको बताए । शाहीकालका मन्त्री श्रीषशमशेर राणाले अहिलेको प्रदर्शनको मुख्य उद्देस्य २०४७ सालको संविधान ब्युझाउनु रहेको बताए । ‘जनता त्यत्तिकै उफ्रेका छैनन् । यसमा एउटा उद्देस्य छ,’ राणाले भने, ‘नेपाली जनता गणतन्त्रबाट वाक्कदिक्क भएका छन् ।’ विभिन्न पार्टीमा आबद्ध मान्छे र स्वतन्त्र व्यक्तिलाई समेत आउन सजिलो होस् भनेर अहिले पार्टीको झण्डा राख्ने नगरिएको उनले बताए । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको मानव अधिकार आयोगको निष्कर्ष
प्रहरी हस्तक्षेपसँगै राजावादीको कार्यक्रम प्रभावित
कार्यक्रम बिथोलिएपछि सम्बोधन स्थल छाडेर हिँडे राजावादी नेता
निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले लियो नियन्त्रणमा
ज्ञानेन्द्रलाई स्वागत गर्न यस्तो छ राजावादीको तयारी