करका दायरा विस्तार गरिन्छ : अर्थमन्त्री पौडेल

रासस

आइतबार, ०७ मंसिर २०७७, २० : २६
करका दायरा विस्तार गरिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनुभएको छ । 

नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभएको हो । 

उहाँले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछ्र्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिनुभयो । 

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । उहाँले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा तथा पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजश्व विभाग र मातहतका सबै राजश्व कार्यालयलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।  

उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजश्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गर्नुभयो । 

अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न आग्रह गर्नुभयो ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायत आवागमनका अवरोधबाट अर्थतन्त्रमा आएको सङ्कुचनको बाबजुद आर्थिक वर्ष २०७६÷७७ को राजश्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजीक राजश्व सङ्कलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस