काठमाडौं । गोरखा अजिरकोट गाउँपालिका मुच्चोक बजारकी ५० वर्षीय सानमाया गुरुङ्गले भेडाको उनबाट हाते मेसिनमा तान बनाएर राडी खप्पु र बख्खु बुनेर राम्रो आय आर्जन गरेकी छिन् । आर्थिक रुपमा सम्पन्न परिवारमा हुर्किएकी गुरुङ्गले आयआर्जनका लागिभन्दा पनि रहरै रहरले सिकेको यो सीपको महत्व बुढेसकालमा बल्ल बुझेको बताइन् ।
आफ्नी हजुरआमाबाट सिकेको यो सीपले अहिले बढेसकालमा आफूलाई व्यस्त बनाएको र आफ्नो उत्पादन युरोप–अमेरिकासम्म पुगेको उनको भनाइ छ ।
उनले सानो परम्परागत काठे प्रविधिबाट हातैले राडी, खप्पु र बख्खु बुन्ने गरेकी छिन् । लेकबाट प्रतिकेजी ४०० रुपैयाँका दरले भेडाको उन ल्याएर त्यसलाई केलाउने, धुने र माड्ने काम गरी हातैले राडी खप्पु र बख्खु बुन्ने गरेको उनले बताइन् ।
उनले राडीलाई २० हजार, बख्खुलाई १२ हजार र खप्पुलाई ७ हजारमा बिक्री गर्ने गरेको बताइन् । उनका अनुसार ३ धार्नी अर्थात करिव ८ केजी उनको १ वटा राडी बन्ने छ भने ४ केजी उनको १ बख्खु बन्ने गरेको छ । आफूले बुनेको चिजको माग निकै भएको र मागअनुसार उत्पादन गर्न नसकेको उनले बताइन् । विदेशीहरुले बढी माग गर्ने गरेको र थोरैमात्र नेपालीहरुले किनेर लाने गरेको उनी बताउँछिन् ।
आफूले घरधन्दा सकेर पसल बस्दा फुर्सदको समयको सदुपयोग गरी उनले राडी, खप्पु र बख्खु बुन्ने गर्छिन् । आर्थिक उपार्जनका हिसावले धेरै लाभकारी यो सीप अहिलेका मान्छेहरुले सिक्नै नखोज्ने गरेको उनको भनाइ छ ।
पुरानो पुस्ता सकिएपछि यो सीप नै लोप हुँदै जान सक्ने चिन्ता उनले व्यक्त गरिन् । सिक्न चाहने मान्छेले एक हप्तामै काम सिक्न सक्ने उनी बताउँछिन् । उनको उत्पादन लगाउँदा ढाड नदुख्ने निकै तातो हुने उनले बताइन् । उनको उत्पादन २० वर्ष खप्ने उनको दाबी छ । फोहोर भएमा साबुन नलगाइ नै पनीमा धुन मिल्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
विहीबार, ०४ मंसिर २०७७, १७ : ५७
लेखकबाट थप