करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १२ : ०३
करिब ३६५ किलो गाँजासहित बारामा चार जना पक्राउ

काठमाडौं। बाराका दुई स्थानबाट करिब ३६५ किलोग्राम अवैध लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट करिब ३०५ किलोग्रामसहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जीवन ठोकर रहेका छन् ।

 

 

 

 

 

 

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जीवनलाई ना ३३ प ७४६९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

यसैगरी, बाराकै पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्रामसहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

 

 

 

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको  हो । 

प्रतिक्रिया दिनुहोस