ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०८२, १६ : ०६
ढल्केबर सबस्टेसनमा एकैदिन दुई पटक आगलागी, अनुसन्धान गर्दै प्राधिकरण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको धनुषास्थित ढल्केबर सबस्टेसनमा एकै दिन दुईपटक आगलागी भएको छ ।नेपालको विद्युत् प्रणालीको 'मुटु' मानिने प्रमुख सबस्टेसनमा बुधबार बिहान र दिउँसो भएको छुट्टाछुट्टै आगलागीमा परेर १३२ केभी र ३३ केभीका ट्रान्सफर्मर, केबल र अन्य उपकरणमा क्षति पुगेको छ ।

यसले सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, चन्द्रनिगाहपुर, हेटौंडा र नवलपुरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

यसरी भयो आगलागी

बुधबार बिहान करिब ७:३० बजे पहिलोपटक आगलागी भएको थियो । प्राधिकरणका अनुसार, १३२/३३ केभीको करेन्ट ट्रान्सफर्मर (सिटी)मा अत्यधिक विद्युत् प्रवाह (ओभरलोड)का कारण विस्फोट भएर आगलागी शुरू भएको थियो । 

 

 

 

 

 

 

 

 

 

सिटी प्यानल विद्युत् मापन गर्ने उपकरण हो, जसले घरायसी मिटरजस्तै कार्य गर्छ । आगलागीले सिटी प्यानलमा जडान गरिएका केबल जलेर नष्ट भएका छन् भने सिन्धुलीतर्फ जाने ३३ केभी फिडरमा विद्युत् आपूर्ति अवरुद्ध भयो ।

दोस्रो घटना बुधबार दिउँसो करिब १:३० बजे भएको थियो । ढल्केबर नगरपालिकाको नजिकै रहेको डम्पिङ साइटमा शुरू भएको आगो सबस्टेसनसम्म फैलिएको प्राधिकरणले जनाएको छ । 

यो आगलागीले १३२ केभीको ट्रान्सफर्मर, ब्रेकर र केबलमा गम्भीर क्षति पुर्‍याएको छ । ढल्केबर सबस्टेसनबाट पश्चिमतर्फ प्रसारण हुने करिब २०० मेगावाट विद्युत् आपूर्ति अवरुद्ध भएको ग्रिड महाशाखाले जनाएको छ ।

घटनालगत्तै नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुवै घटनामा आगो नियन्त्रणमा ल्याइएको छ । हाल सबस्टेसनमा मर्मत र परीक्षणको काम भइरहेको छ ।

 

विद्युत् आपूर्तिमा प्रभाव

आगलागीका कारण सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, चन्द्रनिगाहपुर, नवलपुर र हेटौंडाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । प्राधिकरणको जनकपुर प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियैत यादवका अनुसार, सर्लाही र सिन्धुलीमा वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति पूर्ण रूपमा सुचारु भइसकेको छ । 

यद्यपि, धनुषाको ५० प्रतिशत र महोत्तरीको ७५ प्रतिशत क्षेत्रमा अझै आपूर्ति सुचारु हुन बाँकी छ । प्राधिकरणले प्रभावित क्षेत्रमा बरहथवा र अन्य सबस्टेसनबाट वैकल्पिक लाइन जडान गरेर विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको छ ।

प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले क्षतिको पूर्ण विवरण र आपूर्ति अवरुद्ध भएको क्षेत्रको स्थिति अध्ययन भइरहेको बताएका छन् । गत चैत २० गते पनि यहाँ बाहिरी स्रोतबाट सल्किएको आगोले केबल र उपकरणहरूमा क्षति पुर्‍याएको थियो ।​

बारम्बार आगलागी: प्राविधिक कमजोरी कि मानवीय लापरबाही ?

ढल्केबर सबस्टेसनमा यसरी पटक-पटक आगलागी भएपछि यसको सुरक्षालाई लिएर गम्भीर प्रश्नहरू उब्जिएको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।प्राविधिकहरूले आगलागीको कारण ओभरलोड, पुराना उपकरणहरू वा मर्मतको कमी हुन सक्ने अनुमान गरेका छन् । 

यद्यपि, केहीले सुरक्षा व्यवस्थाको कमजोरी वा कर्मचारीको लापरबाहीले यस्ता घटना निम्तिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । ग्रिड विकास विभागका निर्देशक कमल आचार्यका अनुसार अहिले आगलागीको कारण पत्ता लगाउन प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ ।

प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएपछि यस्ता घटना पटक-पटक दोहोरिनुले सबस्टेसनको सुरक्षा व्यवस्था र सञ्चालन प्रणालीमाथि प्रश्न उठेको हो ।

ढल्केबर सबस्टेसन नेपालको विद्युत् प्रणालीको मेरुदण्ड मानिन्छ । यो ४०० केभी क्षमताको सबस्टेसनले देशको पूर्व-पश्चिम विद्युत् प्रसारणलाई जोडेको छ भने भारतसँग विद्युत् आयात-निर्यातको प्रमुख केन्द्रको रूपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस