सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

सोमबार, २८ फागुन २०७४, १३ : २६
सभामुख महरालाई चीनको बधाई तथा शुभकामना

काठमाडौँ । सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल कांग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचत भएकामा बधाई व्यक्त गरेको सभामुख महराका सहयोगी राहुल महराले जानकारी दिए ।

चिनियाँ राजदूत यु होङले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज सभामुख महरालाई शिष्टाचार भेट गरी स्थायी समितिका अध्यक्ष झ्याङको शुभकामना पत्र हस्तान्तरण गरेका हुन् । सो भेटमा नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई

देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।-रासस

प्रतिक्रिया दिनुहोस