काठमाडौँ । कोरोना भाइरस संक्रमण भएपछि केही दिन अस्पतालको आइसोलेसनमा बसेका व्यवसायी चन्द्रप्रसाद ढकाल अहिले सामान्य दैनिकीमा फर्किसकेका छन्। उनले उद्योग वाणिज्य महासंघका बैठक, सामाजिक काम र भेटघाटहरु सुरु गरिसकेका छन्।
व्यस्त जीवन बिताइरहेका ढकाललाई तीन हप्ता लामो आइसोलेसनमा बस्दा केही असहज हुनु स्वभाविकै थियो। विश्वमहामारीका रुपमा रहेको रोगसँगको लडाइँ आफैँमा डरलाग्दो थियो ।
कोरोनाका खबर राम्रा थिएनन्। संक्रमण र मृत्युका खबरले सबैको मन आत्तिएका थिए। आफैँलाई भाइरसले छोएपछि मनमा चिसो पस्ने नै भयो। परिवारका सदस्यमा थप चिन्ता। आइसोलेसन बसाइका केही दिन उनले बेचैनीमा बिताए।
जीवनमा आइपर्ने हरेक संकटले आफूलाई केही न केही सिकाएकै ठान्छन् उनी। बाग्लुङको अमलाचौरमा सानै उमेरमा बाबुले साथ छोडेपछिको संघर्ष, कोल्डस्टोर सञ्चालन गर्न लगानीको अभाव या जापानका संघर्षका दिनहरु, यी सबैलाई उनले सिक्ने अवसरका रुपमा प्रयोग गरे ।
अहिले पनि त्यस्तै अप्ठेरा दिन छन्। एकातिर कोरोना संकट छ भने अर्कोतिर छ, व्यवसायिक प्रतिस्पर्धामा खरो उत्रनु पर्ने चुनौती। मेहनत र परिस्थितिलाई मूल्यांकन गर्न सक्ने क्षमता भएका ढकाल कोरोना संकटको प्रतिकूल अवस्थामा पनि केही महत्वपूर्ण काम गर्दैछन्।
ढकाल महासंघको एसोसियट उपाध्यक्ष हुन्। गत चैत २७ र २८ गते तोकिएको वार्षिक साधारण सभा कोरोना संकटले धकेलिँदै आएको छ। यही मंसिर ११, १२ र १३ गतेलाई तोकिएको चुनावमा ढकाल वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धी हुन्।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण महासंघमा यस पदको चुनावले विशेष महत्व राख्छ। वरिष्ठ उपाध्यक्ष र त्यसपछिको अध्यक्ष पदमा रहँदा निजी क्षेत्रको समग्र विकास र सरकारसँगको सहकार्यले मुलुकको अर्थतन्त्रलाई सुधारोन्मुख गराउन विशेष भूमिका हुनेछ।
स्थानीय व्यवसायीहरुको साझेदारीमा ठूलास्तरका आयोजनाहरु सञ्चालन गर्ने वातावरण बनाउँदै वैदेशिक लगानी भित्र्याउन महासंघको नेतृत्वमा पुग्ने व्यक्तिले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
जिल्ला–नगरदेखि केन्द्रसम्मको समन्वयमा लगानीको वातावरण बनाउने भूमिकामा आफू अब्बल रहेको ढकाल बताउँदै आएका छन्। उनलाई यो लक्ष्य समात्न विदेशसम्म फैलिएको उनको व्यावसायिक सञ्जाल सहयोगी हुनसक्छ।
कोरोना संकटबाट थलिएको अर्थतन्त्रलाई पुर्नजीवन दिन, राज्यसँग निजी क्षेत्रको विकासबाटै मुलुकको विकास हुन्छ भन्ने मान्यतामा रही नीति निर्माणमा पैरवी गर्न उनको भूमिका महत्वपूर्ण हुनसक्छ। सानादेखि ठूला व्यवसायको अनुभव आफूसँग भएकाले यो कुरा सम्बोधन गर्न सक्ने ढकालको बुझाइ छ।
व्यवसायलाई निरन्तरता
भर्खरै मात्र निर्माण सम्पन्न भएको चन्द्रगिरि हिल्स रिसोर्टको व्यवसायिक सञ्चालन गर्दै आन्तरिक पर्यटकको गन्तव्य बनाउनु ढकालको दोस्रो लक्ष्य हो। सगरमाथा डायलगलगायतका अत्यन्तै महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने तयारीमा रहेको चन्द्रागिरिले कोरोना संकटका कारण ठूला र सामरिक महत्वका कार्यक्रम र भ्रमणहरुमात्र गुमाएन यसको नियमित व्यवसाय पनि संकटमा पर्यो। चन्द्रागिरि रिसोर्टको व्यवसायलाई लयमा ल्याउन उनले धेरै मेहनत गर्नुपर्ने अवस्था छ।
२५ सय ५१ मिटर उचाइमा रहेको यस क्षेत्रमा छिनछिनमा बदली भइरहने मौसम, लस्करै देखिने हिमालहरु, स्वच्छ र सफा हावापानी, हरियाली प्रमुख आकर्षण हुन्। यही प्रकृतिक मनोरम दृश्यमा चन्द्रगिरि हिल्सले केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क, भ्यु टावर तथा रेस्टुरेन्टहरु सञ्चालन गरिरहेको छ। धार्मिक आस्था राख्नेहरुका लागि भालेश्वर महादेव मन्दिर पनि छ।
पाहुनालाई अझ सुविधा थप्न सय कोठा रहेको रिसोर्टमा स्विमिङ पुल, स्पा, साउना, ज्याकुजी, हेल्थ क्लबसहित १५० जना देखि ४०० जनाभन्दा धेरै अटाउने तीन वटा सभाहल छन्। जंगलको बीचमा रहेको रिसोर्टका भवनहरु नेपाली मौलिकता झल्काउने खालका छन्।
चन्द्रगिरी हिल्स नेपालको आन्तरिक पर्यटन क्षेत्रमा प्रमुख गन्तव्यका रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय पाहुनाहरु आउँदा ‘रिट्रिट’ गराउने ठाउँको रुपमा परिचित छ। नेपालको औपचारिक र अनौपचारिक भ्रमणमा आएका कैयन विदेशी विशिष्ट पाहुनाहरुले यो ठाउँको भ्रमण गरिसकेका छन्।
चन्द्रगिरिमा झन्डै पाँच अर्ब रुपैयाँ लगानी रहेको छ। ढकाल यतिमै रोकिन चाहँदैनन्। त्यसैले उनले चन्द्रागिरि हिल्सजस्तै केबलकारसहितको पर्यटकीय गन्तव्य देशका सात वटै प्रदेशमा विस्तार गर्ने योजना बनाएका छन्। यो काम उनले तत्कालै सुरु गर्ने भएका छन्।
नवलपरासीको गैँडाकोट, पोखराको सिकलेस, बुटवलको वसन्तपुर, प्युठानको स्वर्गद्वारी, कर्णालीको चिसापानीमा काम अघि बढिसकेको छ। प्रदेश १ र २ का लागि योजना तयार हुँदैछ।
कोरोना संकटले काममा केही ढिला हुन पुगेको छ। यसमध्ये नवलपरासीको गैँडाकोट र बुटवलको योजना निर्माणको चरणमा पुगिसकेको उनी बताउँछन्।
यी योजनाहरुलाई अगामी पाँच वर्षभित्र सम्पन्न गर्ने कार्यतालिका उनले बनाएका छन्। यी सबै स्थानमा चन्द्रगिरि जस्तै केबलकार, रिसोर्ट, मनोरञ्जन पार्क, रेस्टुरेन्ट लगायतका आन्तरिक पर्यटकलाई मनोरञ्जन तथा सेवा प्रदान गर्ने एकीकृत गन्तव्यका सबै पूर्वाधार हुनेछन्।प्रत्येक क्षेत्रमा एक अर्ब भन्दा बढी लगानी गर्ने उनको योजना छ।
संकटको बेला अत्तालिने भन्दा पनि संयम भएर अवसर खोज्नु पर्ने उनको भनाइ छ। हुन पनि उनी बाल्यकालदेखि नै यस्ता समस्याहरुलाई पार लगाउँदै यहाँसम्म आइपुगेका हुन्।
संघर्षपूर्ण युवाकाल
बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालले १६ वर्षको कलिलो उमेरमै बाबुको साथ गुमाउन पुगे। जेठो सन्तानका रुपमा रहेका ढकालको काँधमा आफ्नो भविष्यका साथसाथै आमा, भाइ र बहिनी पनि हेर्नुपर्ने जिम्मेवारी थपियो।
यो जिम्मेवारीलाई बहन गर्दै उनले परिवारलाई अगाडि बढाए। व्यवसायिक जीवन जागिरबाट सुरु भयो। त्यो पनि सरकारी बैंकमा।
२०४५ सालमा उनी सहायक तहको पदमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त भए। जागिरसँगै उनले व्यापारमा पनि हात हालेका थिए। पहिलो व्यवसाय कोल्डस्टोर चलाएका थिए।
जागिर गरेको तीन वर्षपछि कार्गो व्यवसाय सुरु गरे। त्यही सिलसिलामा उनी जापान पुगे। जापानमा १० महिना बसे। त्यहाँ उनले काम पनि गरे।
जापान बस्दा कमाएको पैसा घर परिवारलाई पठाउन गाह्रो थियो। अनौपचारिक क्षेत्रबाट रकम पठाउँदा धेरै नेपालीहरु ठगिएका उदाहरण थिए। पठाएको रकम परिवारका सदस्यहरुको हातमा पुग्न पनि महिनौँ लाग्थ्यो।
पसिना बगाएर कमाएको पैसा सुरक्षित रुपमा परिवारको हातमा पुर्याउने सेवाको अभाव ढकालले देखे। त्यहीे अनुभवका आधारमा उनले आईएमई खोल्ने निर्णय लिए।
सन् २००२ मा ढकाल इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) खोल्ने प्रस्ताव लिएर नेपाल राष्ट्र बैंक पुगे। भाइ हेमराज ढकालले उनलाई साथ दिए। अहिले उनका प्रायजसो व्यवसाय भाइले नै हेर्ने गरेका छन्।
त्यही एक व्यवसायको लागि बनाइएको नाम अहिले व्यवसायिक समूह बनेको छ– आईएमई ग्रुप। आईएमई ग्रुपले अहिले रेमिट्यान्ससहित बैंक, इन्स्योरेन्स, अटोमोबाइल्स, ऊर्जा, विद्युतीय भुक्तानी, ट्राभल, सूचना प्रविधि, केबलकार र हस्पिटालिटीलगगायतका विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गरेका छन्। जुन व्यवसायले आज चन्द्र ढकाललाई नेपालको व्यवसायिक क्षेत्रमा स्थापित गरेको छ।
निम्नमध्यम परिवारमा जन्मिएका ढकाललाई व्यवसायिक घरानाको जस्तो अवसर थिएन। उनले मेहनत र संघर्षलाई अवसरमा बदल्न सक्ने क्षमता विकास गर्दै गए। त्यही लगनशीलता र धैर्यका कारण उनी प्रतिष्ठित आईएमई ग्रुपका अध्यक्षमात्र भएनन् मुलुककै सबैभन्दा ठूलो निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि चुनावमा पनि भिड्दैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०७७, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीको वातावरण बनाउन अझै कानुन संशोधन गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ : चन्द्रप्रसाद ढकाल
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल
महासंघ साना तथा मझौला उद्योग प्रवर्द्धनमा लागेको छ: ढकाल
पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल