काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पार्टी बैठक बोलाउन नेताहरुले दिएको समय सिमा आज बेलुकी सम्मको छ । तर सूरसार हेर्दा ओली पार्टी बैठक बोलाईहाल्ने पक्षमा छैनन् । हुन त उनले आइतबार महासचिव विष्णु पौडेललाई बोलाएर अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका सचिवालयका ५ नेताले राखेको लिखित पत्रलाई पार्टी विधान अनुसार प्रक्रियामा लैजान निर्देशन दिएको बालुवाटार स्रोतले बताएको छ । तर दिउँसो वरिष्ठ नेता माधव नेपालसँगको छलफलमा भने ओलीले पहिले बैठकको एजेण्डा र सम्भावित निश्र्कषका बारेमा दुई अध्यक्षका बीचमा परामर्श हुनुपर्ने र त्यसपछि मात्र बैठक महासचिवले बोलाउने विधानको ब्यवस्था भएकोले सोही अनुसार गर्ने बताएका थिए ।
नेपालसँगको भेटमा उनले कार्यकारी अध्यक्ष प्रचण्डको मात्र वद्ख्याई गरिरहेकोले आज भोलि नै ओलीसँग प्रचण्डको सम्वाद भईहाल्ने अवस्था देखिदैन् । तर ओलीले सचिवालयमा यो बीचमा आफनो बहुमत कसरी सिद्ध गर्न सकिन्छ भनेर अनेक तानावाना भने बुनिरहेका छन् । आफ्नो सहजता सचिवालयमा निर्माण हुने बित्तिकै उनले पार्टी बैठक बोलाउने रणनीति बनाएका छन् । तर आफु अल्पमतमा हुने गरी पार्टी बैठक नै नबोलाउने रणनीति ओलीको रहेको देखिन्छ । अहिले पनि ओलीले पार्टी बैठक माग गरिरहेका ५ नेतालाई फुटाउने रणनीति अख्तियारको कोसिस गरेका छन् । त्यसको पुष्टि शनिवार यताका घटनाक्रमबाट पनि बुझ्न सकिन्छ ।
पहिलो, शनिबार सचिवालयका ५ नेता पार्टी बैठक बोलाउन जाँदा ओलीले अध्यक्ष प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठ सँग मात्र सवालजवाफ गरे । अध्यक्ष प्रचण्डसँग त भनाभन नै चल्यो । प्रवक्ता श्रेष्ठले पनि ओलीले आफ्ना दासलाई मात्र राम्रो देख्ने र आलोचनात्मक चेत भएका नेतालाई शत्रु देख्ने गर्न थालेको भन्दै कडा प्रतिवाद गरेका थिए । तर उनले माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले आफु विरुद्ध आरोपमा शब्द खर्चिरहदा पनि कसैैलाई जवाफ नदिई मौन बसेका थिए ।
त्यसबाट पनि ओली अब अध्यक्ष प्रचण्डसँग बढेको तिक्त सम्बन्धका बीचमा पूर्व एमाले समुहका नेतालाई फकाउने प्रयासमा जुटेका छन् । त्यो प्रयासका लागि उनले घरमै रोगले थलिएर बसेका प्रदीप नेपाल सम्मलाई पनि माधव नेपाल फकाईदिन सहयोग गर्नुपर्यो भन्दै आफ्ना दूतहरु पठाएका छन् । कसलाई भन्दा र अह्राउदा हुन्छ, उसैमार्फत अनेक फन्डा उनले निकाल्न खोजीरहेका छन् ।
दोश्रो, पार्टी सचिवालयका ५ नेताले बैठक माग गर्न आग्रह गरेको भोलिपल्टै ओलीले माधव नेपाललाई फोन गरे । तपाईसँग लामै सम्वाद गर्न मन छ, बालुवाटार आउनुहोस भन्दै ओलीले नेपाललाई बोलाए । नेपालले पनि ओलीले बोलाएको छलफलमा जाने नीति लिए । तर प्रचण्डसँग सहकार्य गरिरहेका नेपाललाई दुई नेताबीचको सम्बन्धमा बालुवाटारले खेल्न सक्ने ठानी चलाखी अपनाए ।
उनले प्रचण्डलाई भेट्न बोलाएको जानकारी दिए । आफु निकट अन्य तीन स्थायी समिति सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि सँगै लिएर गए । साँझ फेरि खुमलटार पुगेर उनले प्रचण्ड, वामदेव र नारायणकाजीसँग भएको सम्वादको फेहरिस्त ब्रिफिङ गरे । ओलीले चालेको यो दुई स्टेपबाट पनि देख्न सकिन्छ , उनी माधव नेपाल र प्रचण्डका बीचमा भईरहेको समीकरण तोड्न चाहन्छन् । त्यसपछि आफु सचिवालयमा बहुमत सिद्ध गरेर मात्र सचिवालय बैठक बोलाउने तयारीमा लागेका छन् । ओलीको यो रणनीतिमा पूर्व माओवादी नेतासँग आक्रामक र पूर्व एमाले नेतासँग नरम नीति लिने गरि देखिन थालेको छ ।
ओलीले वामदेव गौतम र झलनाथ खनालसँग पनि सम्वादको कोसिस गरिरहेको स्रोतको भनाई छ । उनले यसका लागि समय मिलाउन खोजिरहेका छन् । तर ओलीले यो तत्काल आफु माथी आईलागेको संकट समाधानको प्रयासका लागि मात्र देखिन्छ । ओलीले प्रचण्ड माधव नेपाल बीचको समिकरण तोड्न खोजे पनि सफल हुने नदेखिएको नेकपाका एक स्थायी समिति सदस्य बताउँछन् ।
‘ओलीकै नेताहरु उनको कार्यशैलीबाट दिक्क बन्दै जान थालिसकेका छन्, उनले अझै पनि फकाउने, नेताहरुकै बीचमा एकलाई भेट्दा अर्काेको कुरा काट्ने, अर्काेलाई भेट्दा अर्काेको कुरा काट्ने र सम्बन्धमा दरार पैदा गराउने, अविश्वास सिर्जना गर्ने प्रयासमा उनी सफल हुदैनन् यो पटक’ माधव नेपाल निकट एक स्थायी समिति सदस्यले सफलखबरसँग भने,–‘ ओलीको सोच चिन्तन नै सर्वसत्तावादी खालको छ । त्यो नसच्चाउदा सम्म ओलीसँग सहकार्य सम्भव देखिदैन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०७७, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री ओली
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
लाज पचाएर पार्टी फुटाउनेहरूले अहिले अध्यादेश ल्याउन लाग्यो भनेर झूट फैलाए : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?
पूर्व राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता