संसदको हिउँदे अधिवेशन बोलाउन पूर्वसभामुखहरुको आग्रह

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, १४ : १८
संसदको हिउँदे अधिवेशन बोलाउन पूर्वसभामुखहरुको आग्रह

काठमाडौँ । पूर्वसभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । 

संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहो¥याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । 

संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाई छ । लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन् । 

पूर्वसभामुख ओनसरी घर्तिले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताइन् । संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताइन् । कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन् । 

जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन् । विधि विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन् । 

उनले भनिन्, ‘‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधान अनुसार एउटा प्रकृयामा अगाडी बढ्नका लागि पनि संसद चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ । जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद अनिवार्य छ ।’’ 

स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘‘६ सय सांसदको म्यानेज भएको ठाउँ हो । अहिलेको संख्या एकदमै सानो हो । यसलाई व्यवस्थापन पनि सचिवालयले यो भन्दा पहिलेको बैठक पनि दुरी बनाएर सञ्चालन गरेको थियो । सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने, यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने साना भन्दा साना कुराको म्यानेग गरियो चल्न नसक्ने हुन्न । संसद रिस्क मोलेर पनि चल्नुपर्छ । किनकि त्यो त जनताको प्रतिनिधिमुलक संस्था हो । जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडि बढाउँदा पर्ने अफ्ठेरा पनि संसदले सम्बोधन गर्नुपर्छ ।’’

पूर्वसभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुरु गर्नु अनिवार्य भएको बताए । सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको बताए । 

तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ । अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् । आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो । संसदको अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ । आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन हो । संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ । समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’ 

सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकारे । संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए । सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुरु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए ।

प्रतिक्रिया दिनुहोस