प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ओली र प्रचण्डको निर्देशन

आइतबार, २७ फागुन २०७४, १३ : ३८
प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ओली र प्रचण्डको निर्देशन

काठमाडौं । एमाले र माओवादी संसदीय दलको संयुक्त बैठकले दुवै पार्टीका सांसदलाई प्रधानमन्त्रीको पक्षमा विश्वासको मत जाहेर गर्ने ह्वीप जारी गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

संसद बैठक शुरु हुनुअघि बसेको एमाले-माओवादी संसदीय दलको संयुक्त बैठकबाट यस्तो निर्देशन दिइएको हो । संविधानानुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

दुई दलको संयुक्त बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भने   'सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु ।' अध्यक्ष ओलीले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटामा अगाडि बढाउने प्रण गरेअनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन आग्रह गरे ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भने अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । उनले भने, 'जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला ।'

प्रतिक्रिया दिनुहोस