अधिकांश सामान म्याद गुज्रेको पाइएपछि प्रसिद्धि भेराइटी सिल

भरतपुर विमानस्थलमा रहेका अधिकांश सटरबाट म्याद गुज्रेका सामग्री जफत

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १६ : १६
अधिकांश सामान म्याद गुज्रेको पाइएपछि प्रसिद्धि भेराइटी सिल

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनले चौबीसकोठीको भरतपुर विमानस्थलको भवनमा रहेको प्रसिद्धि भेराइटी पसललाई सिल गरेको छ । 

पसलमा बिक्रीका लागि राखिएका ५० प्रतिशतभन्दा बढी सामान म्याद नाघेको फेला परेपछि पसलमा सिल गरिएको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख नारायण लम्सालले बताए । पसलबाट गुडडे बिस्कुट २८ पिस, हर्लिक्स ३ थान, कुकिज बिस्कुट ७० प्याकेट, क्यान जुस ४४  पिस, केक १० प्याकेट, केक बिस्कुट ५, कुरकुरे १०३ पोका, बिस्कुट ९ पोका, स्प्राईट १० वटा, कोक २१ बोतल, किन्ले पानी ५ बोतल, रेडबुल १८ पिस, क्यान जुस १८ पिस र अरु चक्लेट लगायतका धेरै सामग्री बरामद गरिएको उनले बताए । 

आफूहरुले त्यहाँबाट म्याद गुज्रेका सामग्री जफत गरेको र पसल संचालकलाई असोज २ गते कार्यालयमा हाजिर हुन वारेन्ट पुर्जी दिएर आएको  लम्सालको भनाई छ । लम्सालका अनुसार पसल संचालकलाई जरिवाना हुनेछ । 

घरेलु तथा साना उद्योग कार्यालय चितवनले अहिले नियमित बजार अनुगमन गर्ने गरेको र सोही क्रममा म्याद गुज्रेका सामग्री बिक्री गर्नेहरुलाई कारवाही समेत गरिँदै आएको लम्सालले बताए ।

टोलीले भवनमा रहेका सबै पसल तथा ब्यावसायिक फर्महरु तथा चौबीसकोठीका फलफूल पसलहरुको अनुगमन गरेको थियो । त्यहाँ अधिकांश पसल दर्ता बिनै संचालनमा भएको पाइएको र उनीहरुलाई तत्काल दर्ता हुन निर्देशन समेत दिइएको छ ।  अनुगमनका क्रममा सबैजसो पसलमा म्याद गुज्रिएको पेयपदार्थ तथा अन्य सामग्री बिक्री भएको भेटिएको थियो । 

टोलीले चौबीसकोठीका एक दर्जन पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरेको छ । बरामद भएका सामाग्रीले घरेलुको जिपको टेलर भरिएको थियो । अनुगमनका क्रममा सबै पसलबाट म्याद गुज्रेका सामान फेला परेको तर थोरैथोरै सामान फेला परेका पसलेहरुलाई भने एक पटकका लागि सम्झाई बुझाई सामान जफत गरी छाडिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका कार्यालय प्रमुख घननाथ अधिकारीले बताए ।

घरेलु कार्यालयले यस अघि माडी, मुग्लिन, पूर्वी चितवन र पश्चिमी चितवनका विभिन्न ठाउँमा अनुगमन गरिसकेको लम्साल बताउँछन् । 

प्रतिक्रिया दिनुहोस