सभामुखमा महराको उमेदवारी दर्ता

शुक्रबार, २५ फागुन २०७४, १२ : ३४
सभामुखमा महराको उमेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उमेदवारी दर्ता गराएका छन् । पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको कार्यालय बैठकले महरालाई सभामुखको उमेदवार बनाउने निर्णय गरेको थियो ।
त्यसलगत्तै  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उनले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन् ।  महराको प्रस्तावकमा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रकै देव गुरुङ रहेका छन् ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ । कार्यतालिकाअनुसार भोलि दिउँसो १ बजे मतदानको समय तोकिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले भने उमेदवारी नदिने तयारी गरेको छ ।
“हामीले सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं,” कांग्रेसका एक नेताले भने, “राष्ट्रपतिमा विद्यादेवी भण्डारीको कामप्रति चित्त नबुझेका कारण हामीले उमेदवारी दिएका हौं । तर सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं ।” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरु छलफलमै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस