काठमाडौं । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज (बिहीबार) गजुर प्रतिस्थापन गरिएको छ ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपन भएको गजुर राखिएको छ । यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलिमा पुननिर्माण गरिएको हो ।
मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद आर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको बताए । मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बिचमा आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम सकिने चरणमा छ । प्राधिकरणका सहसचिव अर्यालले यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुननिर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको बताए । अब मन्दिर भित्र रहने मुर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ असोज २०७७, १४ : ०२
लेखकबाट थप