अनेरास्ववियू पुनर्गठन गरिने

बुधबार, २३ फागुन २०७४, १५ : २३
अनेरास्ववियू पुनर्गठन गरिने

काठमाडौँ । अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।

लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थाल्नुभएको अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो ।

“अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ” उपाध्यक्ष बर्तौलाले भन्नुभयो, “केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उहाँले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो ।”

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न थाल्नुभएको हो । विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ आँै राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ । लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहनुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस