काठमाडौं । निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीले तामझामका साथ बालुवाटार भित्रयाउन चाहन्छन् । तर खतिवडाको मन भने बालुवाटार भन्दा अन्यत्रै जान पाए हुन्थ्यो भन्ने देखिन थालेको छ ।
खतिवडा निकट स्रोतका अनुसार, उनलाई अहिले अर्थमन्त्रीबाट खुस्काउन र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि उकास्नमा ओलीकै निकट मानिएका महासचिव विष्णु पौडेल र ओलीकै किचेन क्याबिनेटमा रहेका प्रमुख सल्लाहकार विष्णु रिमाल सम्म लागेका बुझाईमा खतिवडा छन् । उनले आफु निकटकालाई अचेल धुम्बाराहीस्थित निवासमा बसेर त्यस्तै ब्रिफिङ गर्न थालेका छन् ।
ओलीको किचेन क्याबिनेटमा रहेका सल्लाहकारहरु विष्णु रिमाल देखि राजन भट्टराईसम्म आफ्नो बालुवाटार प्रवेश रोक्न अहिले तानाबानामा लागेको र त्यही टिमसँगै दैनान्दिन बालुवाटारमा वसेर प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने खतिवडाले बताउन थालेका छन् ।
प्रधानमन्त्री ओलीले भने खतिवडालाई क्याबिनेटबाट मन्त्रीस्तरको सेवा सुविधा दिलाउने गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा नियुक्ति दिलाउन खोजेका थिए । त्यसो गर्दा अर्थमन्त्रीमा डिफ्क्टोका रुपमा अन्य नेतालाई नियुक्ति दिलाएपनि खतिवडाकै भरमा बालुवाटारभित्रैबाट अर्थ मन्त्रालयका नीति कार्यक्रम र योजनाहरु बनाउन खोजेका थिए ।
तर खतिवडाले त्यस्तो प्रधानमन्त्रीको रुचीमा खास इन्टेस्ट देखाएका छैनन् । उनले आफुलाई बरु अमेरिकाको राजदुतका रुपमा नियुक्त गरेर पठाउन ओलीसँग सिधै नभएपनि सन्देशवाहकमाफर्त कानसम्म सन्देश पुरयाउन थालेका छन् । अमेरिकामा अहिले राजदुत पद रिक्त छ । वालुवाटारमा रिमाल, भटटराई, सूर्य थापा लगायतका सल्लाहकारहरुको घेराभित्र वसेर काम गर्नुभन्दा अमेरिकाको राजदुत भएर जानु हितकर हुने वुझाईमा यतिवेला खतिवडा छन् ।
ओलीले उनलाई सरकार वाहिर रहेपनि महत्वपूर्ण जिम्मेवारी दिने वताईसकेका छन् । त्यस्तो जिम्मेवारीका हकमा उनले अमेरिकाको राजदुत आफनो पहिलो रोजाईको पद हुने सन्देश ओलीकँहा पुरयाएका छन् । अब ओलीले आफुले चाहे अनुसार उनलाई बालुवाटारभित्रको किचेन क्याबिनेट भित्र हुल्ने र आर्थिक सल्लाहकार बनाउने या खतिवडाले चाहे अनुसार अमेरिकाको राजदुत भएर जाने ? यी दुई मध्ये एक विकल्पमा खतिवडाको अबको कामको टुग्गो लाग्ने स्रोतको भनाई छ ।
अमेरिकाको राजदुत अहिलेका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि ताकेका छन् । पार्टीभित्रै उनको विकल्प खोज्न दबाव बढेमा र ओलीले आफनो पद जोगाउन प्रमुख सल्लाहकार फेर्ने नीति लिएमा रिमालले अमेरिकाको राजदुत बनेर जाने योजना बनाएका थिए । केही समय अगाडी ओलीको नीति सचिवालयका सदस्यहरु हेरफेरको विषय प्रवेश पाउदा उनको पद पनि धरापमा परेको थियो । तर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आग्रह गर्न लगाएर रिमालले त्यसवेला पद जोगाएका थिए ।
आफुलाई अप्ठयारो परेमा अमेरिका राजदुत भएर जाने योजनामा रिमाल रहेका कारण नै त्यहाँ अहिलेसम्म राजदुत नियुक्त हुन नसकेको हो । त्यही रिक्त पदमा अहिले खतिवडाले पनि आँखा लगाएका छन् । प्रधानमन्त्री ओलीले खतिवडाको हकमा अब कुन निर्णय लिन्छन्, आफुले चाहे अनुसारको या खतिवडाले रोजे अनुसारको ? त्यसका लागि भने अझै केही दिन कुर्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ भदौ २०७७, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री
सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने
त्रिवि दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभीमानी नागरिक हौं
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि