काठमाडौंमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग

सफल खबर संवाददाता

बुधबार, १७ भदौ २०७७, १३ : २६
काठमाडौंमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग

काठमाडौँ । बागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापन सहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् । ‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ,’ उनले भने, ‘यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यक छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ, ।’ 

उनले थपे, ‘संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगानउनु पर्छ ।’ 

उनले संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताए । ‘अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्छ । यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्छ,’ उनलेभने, ‘त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ । दैनिक कमाएर खानु पर्नेका  लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ । यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाईरस न्यून हुनजान्छ । समुदायमा संक्रमण फैलिन पाउँदैन ।’ 

उनले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिए । ‘त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ,’ उनले भने, ‘स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।’ 

उनले त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्टयाक टे«सिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिए । 

उनले आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा  सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने बताए ।  होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस