चितवन । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट टे«सिङ, स्वाब सङ्कलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ ।
शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचाारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ । भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ ।
उहाँका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाको पिसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताउनुभयो । महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । गत दुई सातामा मात्र यो सङ्ख्या २३६ रहेको छ जसमध्ये महिला १३३ र पुरुष १०३ जना रहेका छन् । पछिल्लो समय पुरुषभन्दा महिलामा सङ्क्रमण बढी छ ।
महानगरमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएपछि आइसोलेसनको व्यवस्थापनमा महानगर जुटेको छ । हाल महानगरको आइसोलेसनमा २३६ जना रहेका छन् । तीमध्ये ८१ घरमा र १५५ जना संस्थागत आइसोलेसनमा छन् । सङ्क्रमितमध्ये ८४ जना निको भइसकेका छन् । २३६ सक्रिय सङ्क्रमित महानगरमा छन् । महानगरले सङ्क्रमण देखापरेपछि दुई हजार ३४७ जनाको कन्ट्याक्ट टे«सिङ गरिसकेको छ ।
निषेधाज्ञाको समयमा मात्र एक हजार ५५६ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको सुवेदीले जानकारी दिनुभयो । भरतपुर महानगरले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय रहेको बागेश्वरी क्षेत्रमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले सङ्क्रमित बढेपछि निषेधाज्ञा जारी भएसँगै आन्तरिक काममा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “बागेश्वरीमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेका छौँ । यसलाई बढाउँदै लैजान्छौँ ।” उहाँका अनुसार कन्ट्याक्ट ट्रेसिङसँगै पिसीआर स्वाब सङ्कलनलाई तीव्रता दिएर परीक्षण बढाइएको उहाँको भनाइ छ । यसअघिका क्वारेन्टिन निर्मलीकरण र विकास गर्नाका साथै घरमै रहेका सङ्क्रमितलाई सुरक्षित रहन आवश्यक जनचेतना जगाइएको दाहालले जानकारी दिनुभयो ।
महानगरले नेपालमा सङ्क्रमण देखिएलगत्तै कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । नेपालमै कोरोना उपचारका लागि यो पहिलो अस्पताल हो । यससँगै बाहिरबाट आएका महानगरवासी राख्न ५० वटा क्वारेन्टिन बनाएकामा हाल ११ वटा सञ्चालनमा छन् । दाहालले निषेधाज्ञामा पनि आवश्यक वस्तु तथा सेवाहरु सञ्चालनमा समन्वय र सहजीकरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अवधिमा जटिल प्रकारका दीर्घरोगीको उपचारमा सहजता पनि हामीले गरिरहेका छौँ ।” कतिपयले उपचार पाउन कठिन भएको गुनासो गरेकामा त्यसको सहजीकरण पनि महानगरले गरेको दाहालको धारणा छ ।
महानगरवासीको दैनिकीमा समस्या रहे पनि रोगसँग संयुक्त रुपमा लड्नुको विकल्प नभएको भन्दै उहाँले रोकथाम, नियन्त्रण र उपचारमा महानगर जुटिरहेको बताउनुभयो । अत्यावश्यक कामका लागि महानगरले समन्वय गरिरहेको उहाँको भनाइ छ ।
निषेधाज्ञा थपियो
जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राति १२ बजे सकिँदैछ ।
पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिदेखि निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकामा साउन ३२ गते माडीबाहेक जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।
भदौ ५ गतेदेखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनहरुमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० देखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लामा अहिले कोरोना सङ्क्रमित ४९५ पुगेका छन् । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ भदौ २०७७, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष