नेपालमा थप १२ जनाको मृत्यु, ९२७ जना संक्रमित भेटिए, १६९ जना निको भए

सफल खबर संवाददाता

शुक्रबार, १२ भदौ २०७७, १६ : ४८

काठमाडौं । नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा महिला ४ जना र पुरुष ८ जना रहेका छन् । महिलामा मोरङकी ५६–६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया, मकवानपुरकी ७१ वर्षीया छन् भने पुरुषमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १९५ पुगेको छ । यस्तै आज थप ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १६९ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । जसमध्ये २० हजार २४२ जना निको भएर घर फर्किएका छन् ।