भक्तपुर । कोरोना सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति बिहिबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।
उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए । आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भएको बताए । अस्पतालका निर्देशक श्रेष्ठले भने, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो ।
हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो ।” कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ भदौ २०७७, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै