तीजको सांस्कृतिक पक्ष लोप हुँदै

रासस

शुक्रबार, ०५ भदौ २०७७, २० : १६
तीजको सांस्कृतिक पक्ष लोप हुँदै

फाइल तस्विर

काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व तीजको मौलिकता लोप हुँदै गएको छ । 

तीजलाई ‘तृतीया’ भनेर मनाइने भएपनि पछिल्लो समयमा यो पर्वको सांस्कृतिक पक्ष लोप हुँदै गएको हो । तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ । समयको परिवर्तनसँगै नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोणमा पनि व्यापक परिवर्तन आएको छ ।

दश वर्षको सशस्त्र विद्रोह, नेपाली युवाको वैदेशिक यात्रा, आर्थिक उन्नति र शैक्षिक गुणस्तरमा आएको वृद्धिसँगै जीवनशैली पनि फेरिएको छ । फेरिएको जीवनशैलीसँगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ । पछिल्लो समयमा तीजका नाममा विकृति र तडकभडक आएको छ । 

तीजको दर खाने दिनको स्वरुपमा पनि परिवर्तन आएको छ । केही वर्षयता तीजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ । अब यो तीजको अघिल्लो दिन मात्रै नभएर महिनौ चल्न थालेको छ । आजभोलि दरको नाममा महिनौँदेखि रमाउन थालेका छन् । विभिन्न फेसन, र सजिसजावटले रङ्गिन थालेका छन् । यसले समाजमा हुँर्कदै गरेका नयाँ पुस्तामा ठूलो विकृति ल्याएको छ । एक महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको सांस्कृतिक पक्षलाई विकृतिका रुपमा लैजान खोजेको छ । 

तीजका बेला गाईने सगुन, फाग र देउडा गीतहरू क्रमशः लोप हुँदै गएको सुर्नया–६ शंकरपुरका हरिना अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “तीजका दिन सबै महिला एक ठाउँमा जमा भएर सगुन फाग सहित शिवपार्वतीको पूजा गर्ने चलन रहेपनि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ । तीजको दर खाने नाममा एक महिना पहिलादेखि नै भड्किला कार्यक्रमहरु हुन थालेका छन् ।” तीजमा डिजेका गीतमा नाच्न थालेपछि मौलिक संस्कृति ओझेलमा पर्दै गएको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ तीजको सांस्कृतिक पक्ष लोप हुँदै गए, तीजका बेला गाइने देउडा गीतहरु पनि लोप हुन थालेका छन् ।” यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि धर्मशास्त्रीहरुले जोड दिएका छन् । 

एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ । ‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई सङ्कुचित अर्थमा लिन नहुने निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देबदत्त भट्टले बताउनुभयो  ।

यसको अर्थ, यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छिन् ।

    पार्वतीले भगवान शिवजीलाई स्वामी पाऊँ भनी भाद्र शुक्लपक्षको त्रियोदशीका दिन निराहार व्रत बसी शिवजीलाई स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । अजको दिनमा नेपाली हिन्दु विवाहिता नारीले  आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य, परिवारको राम्रो र प्रगतिको कामनाका लागि र अविवाहिताले सुयोग्य पति प्राप्तिको कामनासहित व्रत बस्दै आएका छन् । 

सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको भट्टले बताउनुभयो । “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”, उहाँले भन्नुभयो । ‘सर्वतः आत्मानं गोपाये’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने उहाँको भनाइ छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उहाँले जानकारी दिनुभयो । 

श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको महाकाली साहित्य सङ्गम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताउनुभयो  । “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ”, उहाँले भन्नुभयो ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रीहरुको भनाइ छ ।

मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुबैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । ‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी भन्ने हुन्छ ।

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । ब्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास छ ।

शुक्ल द्वितीयाका दिन दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस